
‘प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाजको सपना साकार हुन्छ, हामी एक हप्ताभित्रै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन सुरु गर्छौं’–मंगलबार रिपोर्टस् क्लबद्वारा राजधानीमा आयोजित साक्षात्कारमा उनले भने–‘यही आउने वैशाखबाटै सम्भाव्यता अध्ययनबारे महाशाखा बनाएर काम थाल्छौं, यो नेपालीहरुका लागि ठूलो उपलब्धि हो ।’
उनले विगतमा प्रधानमन्त्री ओलीले पानीजहाजको कुरा गर्दा सामाजिक सञ्जालमा उडाइएको स्मरण गर्दै भने–‘भारत भ्रमणको दौरानमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मिडियासामु सगरमाथाको देशमा सागरको पहुँच पुर्याउँछु भन्नुभयो, उहाँले सार्वजनिकरुपमै बोल्नुभएको छ ।’
प्रधानमन्त्रीको भारत भ्रमण दलका सदस्यसमेत रहेका मन्त्री महासेठले प्रधानमन्त्री ओलीको भ्रमणकाक्रममा दुवै प्रधानमन्त्रीले अहिलेसम्म भएका सन्धि–सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकाले आफूहरु भारतसँग भएका सम्झौताहरु कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त रहेको सुनाए ।
रेलमार्ग र जलमार्ग बनाउनेबारे भारतसँग भएको सहमति ठूलो उपलब्धि भएको उनको भनाइ थियो ।
‘हाम्रा प्रधानमन्त्रीले मोदीजीसँग विगतका सन्धि तथा सम्झौताहरु कार्यान्वयन नभएकाबारे ध्यानाकार्षण गराउनुभएको थियो, उहाँले हामी त्यहीँ हुँदापनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो, यो खुसीको कुरा हो’–उनले भने ।
कृषि क्षेत्रमा पनि द्धिपक्षीय साझेदारी गर्नेबारे योपटकको भ्रमणमा कुरा भएको उनले जानकारी दिए ।
मन्त्री महासेठले प्रधानमन्त्रीको तीनदिने राजकीय भारत भ्रमण सफल र उपलब्धिमूलक भएको जिकिर गरे ।
‘विगत र यसपालिको भ्रमणमा फरक व्यवस्थापन भएको छ’–उनले भने–‘भ्रमणप्रति सम्पूर्ण मिडिया र राजनीतिक दलहरु सकारात्मक देखिनुभयो । जबकि, पहिलेका भ्रमणमा मिडिया र पार्टीहरु नै विभाजित हुनेगर्थे, यसपटक त्यस्तो भएन ।’
भ्रमण अवधिमा प्रधानमन्त्री ओलीले सबै कुरा उठाएको उनले सुनाए । ‘प्रधानमन्त्रीले भारतीय समकक्षी मोदीजीसँग भारतले नेपालसँग गरेका सन्धि तथा सम्झौताहरु अहिलेसम्म किन लागू भएन ? भनेर सोध्नुभएको थियो, भारतले किन उपेक्षा गरिरहेको छ भनेर सोध्नुभएको थियो’–उनले भने ।
उनले भ्रमणकाक्रमममा ‘क्रस–बोर्डर क्राइम’, पशुपति, कालापानीलगायतका विषयमा पनि कुरा भएको जनाए ।
टनकपुर, कोसी हाइड्याम्प, सुनकोसी–कमला डाइभर्सन, हुलाकी राजमार्गलगायतका विषयमा आफूहरुले कुरा उठाएको र त्यसमा गम्भीररुपमा छलफल भएको उनको भनाइ थियो ।
विगतमा भएका कुराहरु बिर्सिएर अब नयाँ ढंगले अघि बढ्ने समझदारी भएको पनि उनले बताए ।
उनले मुख्य कुरा जयनगर–जनकपुर, जनकपुर–बर्दिवास, बर्दिवास–बिजलपुरा, बिजलपुरा–सिमरा रेलमार्गको डीपीआर सम्पन्न भएको सुनाए ।
‘सन् २०१८ भित्र जयनगर–जनकपुर–बर्दिवासमा रेलमार्ग निर्माण सम्पन्न गर्छौं । रेल आउँछ । अर्को साल बर्दिवास–बिजलपुरा, अर्को साल बिजलपुरा–सिमरा निर्माण सम्पन्न गर्छौं’–उनले भने ।
मेची–महाकाली पूर्व–पश्चिम रेलमार्गको डीपीआर सम्पन्न गर्ने चरणमा रहेको उनले बताए ।
उनले यातायातमा व्याप्त रहेको सिन्डिकेटले बस व्यवसायी, यात्री र सरकार कसैलाई पनि फाइदा नभएको सुनाए ।
यातायात क्षेत्रलाई उद्योगजस्तै रुप दिन चाहेको उल्लेख गर्दै उनले सिन्डिकेट मुलुकका लागि ‘अभिसाप’ भएको बताए । सिन्डिकेटका कारण राज्यले धेरै राजश्व गुमाएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्