
मेची राजमार्गअन्तर्गत श्रीअन्तुमा हाल आन्तरिक र वाह्य पर्यटक आउने क्रम बढेको हो । सूर्योदयको दृष्यावलोकनका लागि उनीहरु त्यहाँ पुग्न थालेका हुन् ।
इलामको श्रीअन्तुलाई सुर्योदयको दृश्य अवलोकनका लागि देशकै आकर्षक केन्द्र मानिएकोले मौसम खुलेसँगै सो स्थानबाट झुल्केघाम हेर्ने पर्यटकहरु अन्तु भित्रिने गरेका हुन् । पर्यटक आगमन बढेसँगै व्यापार व्यावसाय पनि बढेको व्यवसायी बताउँछन् ।
समुन्द्र सतहबाट १ हजर ८ सय २८ मिटरको उचाईमा रहेको श्रीअन्तुबाट झुल्के घामको सुन्दर दृश्य, तेस्रो अग्लो कन्चनजङगा हिमाल, भारतका विभिन्न भू–भाग देखिनुका साथै नेपालको होचो ठाउँ केचना र ताप्लेजुङ्का विभिन्न ठाउँसमेत देख्न सकिने भएकाले पर्यटकको रोजाईमा पर्न सफल भएको अन्तु पुगेका पर्यटकहरुको भनाइ छ ।
श्रीअन्तु मै रहेको अन्तु पोखरीसहित आसपासमा देखिने दृष्यले पनि पर्यटकको चाप बढ्दै गएको छ । पोखरी आसपास दैनिक पिक्निक खान र डुंगा सयर गर्न आउने पनि त्यत्तिकै छन् ।
२०६० साल यता पर्यटक प्रर्वद्धनका लागि सकृय अन्तुबासी यतिबेला पर्यटकका लागि होमस्टे सन्चालनमा व्यस्त छन् । अहिले दैनिक एक सयको हाराहारीमा पर्यटकहरु होमस्टेमा बस्न आउने गरेका छन । यसबाट होमस्टे संचालक अन्तु बासीले मनग्य आम्दानीसमेत लिईरहेका छन् । यस पर्यटकीय स्थललाई विश्व सामु चिनाउन सके थप फाईदा लिन सकिने स्थानीय रोशन आचार्य बताउँछन् ।
अन्तुको पर्यटन विकासका लागि मेची पहाडी पर्यटन प्रवर्द्धन विकास समितिले समेत सहयोग गर्दै आएको छ । स्थानीयको सकृयतामा सरकारको उचित सहयोग र प्राकृतिक स्रोत साधनको सम्मुचित उपयोगले अन्तुलाई थप आकर्षण देखाउन जुटेको खण्डमा स्थानीयले आगामी दिनमा समेत अझ सफलता प्राप्त गर्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्