Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


अमेरिकाबाट सौर्य ऊर्जामा १ खर्ब ५ अर्ब लगानी आउने


0
Shares

अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

‘स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब अमेरिकी डलर लगानी गरेर ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ,’ उनले भने, ‘उनीहरूको लगानी प्रस्तावलाई सकारात्मक रूपमा लिँदै फास्ट ट्र्याकमार्फत लगानी स्वीकृत गर्ने प्रतिबद्धता हामीले जारी गरेका छौँ ।’

अमेरिकास्थित नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीले स्काई पावर ग्लोबल लिमिटेडलाई नेपालमा लगानी ल्याउने विषयमा समन्वय र सहजीकरण गरेका थिए । ‘हामीसँगका विभिन्न चरणको छलफलपछि कम्पनी नेपालमा ठूलो मात्रामा लगानी गर्न तयार भएको हो,’ हाल नेपालमै रहेका महावाणिज्यदूत मरासिनीले भने । अमेरिकाबाट नेपालमा यस स्तरको विदेशी लगानीको प्रतिबद्धता आउनु आफैँमा महत्वपूर्ण रहेको मरासिनीले बताए ।

स्काई पावर ग्लोबलका प्रमुख व्यावसायिक अधिकृत चाल्र्स कोहेन नेतृत्वको टोली र ऊर्जामन्त्री वर्षमान पुन नेतृत्वको टोलीबीच भएको बिहीबारको वार्तापछि लगानीको विषयमा टुंगो लागेको हो । नेपाली टोलीमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङ, अमेरिकाको न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीलगायत थिए ।

कोहेनले अर्थमन्त्री डा. युवराज खतिवडा तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छुट्टाछुट्टै भेटेर लगानीका विषयमा कुरा गरिसकेको जानकारी मरासिनीले दिए । –नयाँ पत्रिका दैनिकबाट