१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


‘गुराँसको राजधानी’ टिएमजे विश्वभर चर्चित, २८ प्रजातिका गुराँस हेर्न पर्यटकको भीड (भिडियो)


0
Shares

यो क्षेत्रमा फूलेका थरिथरिका गुराँसले पर्यटकलाई लोभ्याइरहेको छ । एउटै वनमा २८ प्रजातिका गुराँस फुल्ने भएकाले तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्र गुराँसको राजधानीको रुपमा विश्वभर चर्चित छ ।

विश्वमा पाइने ४२ मध्ये २८ बढी प्रजातिका गुराँस पाइन्छन् यो क्षेत्रमा ।

गुराँसले मात्र होइन, आकर्षक दर्जनौँ पोखरी, सुन्दर लेकाली बस्ती, मकालु र कञ्चनजंघा हिमशृंखला, एउटै उचाईको रमणीय पदमार्ग लगायतले यो क्षेत्र चर्चित छ ।

हरेक वर्ष वसन्त ऋतुको आगमनसँगै रंगीचंगी गुराँसको अवलोकन गर्न यो क्षेत्रमा पर्यटकको भीड लाग्ने गरेको छ । यहाँका डाँडाकाँडा, हिमाल र पोखरीहरुको आकर्षक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ ।

वर्षको आठ महिना कुमारी रहने यो क्षेत्र गुराँस फूलकै कारण आन्तरिक तथा बाहय पर्यटकको मुख्य रोजाइमा पर्ने गर्छ ।

भारतको विहार र दार्जिलिङबाट नजिकको दूरीमा रहेको यो क्षेत्रमा त्यहाँका सौन्दर्यप्रेमीको ओहोर–दोहोर केही वर्षदेखि चलिरहेको छ । नयाँ वर्षमा अझै धेरै पर्यटकहरुको आगमन हुने गर्छ ।

गुराँसका प्रजातिमा रम्ने र यहाँको प्राकृतिक छँटामा झुमेर रमाउनेहरु बढेका छन् ।

वनभरि बैंस फक्राएर फुल्ने रंगीचंगी गुराँस, ठाउँ-ठाउँमा देखिने नागी र पोखरीहरू, यहाँका आकर्षक डाँडाकाँडा पर्यटकको मन लोभ्याउने थप आकर्षणहरू हुन् ।

टिएमजे क्षेत्र प्रदेश नं. १ कै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको लालीगुराँस संरक्षण व्यवस्थापन समितिका संयोजक लक्ष्मण तिवारी बताउँछन् ।

काठमाडौंबाट ३५ मिनेटको हवाई यात्रापछि विराटनगर आइपुगिन्छ । यहाँबाट चार घण्टाको सवारी साधनको यात्रापछि गुराँसे वनको प्रवेशद्वार वसन्तपुर पुगिन्छ  ।

यहाँबाट सुरु हुने टिएमजेमा २ सयभन्दा बढी प्रजातिका वनस्पतिहरू पाइन्छन् । तँछाड मछाड गर्दै फुलेका प्राकृतिक गुराँस वनले पदयात्रा अवधिभर स्वागत गरिरहेझैं लाग्छ  ।

१ हजार ५ सयदेखि ५ हजार ५ सय मिटर उचाइमा फैलिएको यो क्षेत्र जैविक तथा सांस्कृतिक विविधता, प्राकृतिक स्रोत र सौन्दर्यको हिसाबले पनि उत्तिकै महत्वपुर्ण छ ।

सडक, खानेपानी, विजुली र अन्य सेवा सुविधाको उचित व्यवस्थापन भए यो क्षेत्रको उल्लेख्य सम्भावना भएको यहाँ घुम्न आइपुगेकाहरु बताउँछन् ।

देश विदेशका पर्यटकहरु आइरहने यो क्षेत्रमा आर्थिक गतिविधि बढेको छ ।

यस क्षेत्रमा पुर्वाधार र पर्यटन विकासका लागि आवश्यक कामहरु गर्न सके यस क्षेत्रको मात्रै हैन, धनकुटा, धरान, विराटनगर र झापाको समेत आर्थिक गतिविधि वृद्धि गराउने व्यवसायी बताउँछन् ।

भिडियो