२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘कोरम’ नपुगेर विकास समितिको बैठक स्थगित


0
Shares

काठमाडौं, मंसिर ४ । आवश्यक संख्यामा सांसदहरु उपस्थित नभएपछि प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ ।

मंगलबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रगतिका विषयमा छलफल गर्न बोलाइएको बैठक ‘कोरम’ नपुगेपछि स्थगित भएको हो ।

बिहान ११ बजे बोलाइएको बैठकमा १२ बजेसम्म पनि बैठक सन्चालन गर्न आवश्यक संख्या नपुगेपछि स्थगित गरिएको हो ।

मंगलबारको बैठकमा पुनःनिर्माण प्राधिकरणको प्रगतिबारे जानकारी दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बोलाइएको थियो ।

समितिका सभापति कल्याणीकुमारी खड्काले बैठक बस्नका लागि आवश्यक सांसद संख्या नपुगेपछि समितिको कार्यसन्चालन विधि कार्यान्वयनका लागि स्थगित गरिएको जानकारी दिइन् ।

२७ सदस्य सांसदमध्ये हाल एकजना सांसद हरिनारायण रौनियारलाई संसद सचिवालयले निलम्बन गरेकाले समितिमा २६ जना सांसद छन् ।

कोरम पुग्न सांसद संख्याको ५१ प्रतिशत अर्थात् १४ जना आवश्यक पर्नेमा १३ जना सांसदमात्र उपस्थित भएका थिए ।

विकास पूर्वाधार र बजेटका दृष्टिकोणले विकास समिति निकै महत्वपूर्ण मानिन्छ ।