Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


भारतको रोजगारी छोडेर गाउँमै टमाटर खेती


0
Shares

डीबी विष्ट

बझाङ, मंसिर ४ । नेपालमा रोजगारीको सम्भावना नदेखेर विदेश जाने युवाहरुको संख्या दिन प्रतिदिन बढ्दै गरेका बेला बझाङको एउटा सानो गाउँका बासिन्दाले ब्यावसायिक रुपमा टमाटर खेती गरेर लाखौं रुपैयाँ आर्जन गर्दै आएका छन् । जिल्लाको केदार स्यूँ गाउँपालिका–१ पथुडाका बासिन्दाले गाउँ वरिपरि रहेको पाखो जमिनमा टमाटर खेती गरेर दैनिक दश क्वीन्टलसम्म टमाटर उत्पादन गर्दै आएका छन् ।

उत्पादित टमाटरले जिल्लाभरीकै माग परिपुर्ति गर्नुका साथै किसानको आयआर्जन बृद्धि गराएको छ ।

पथुडाका बासिन्दाले गाउँमा गरेको टमाटर खेती यतिबेला छिमेकी गाउँका लागि चर्चाको विषयसमेत बन्न थालेको छ । २२ परिवार रहेको पथुडा गाउँका सबै परिवारले बिगत तीन बर्षदेखि गहुँ लगाउने खेतमा टमाटर खेती गर्दै आएका छन् । टमाटर खेती गर्न थालेपछि मनग्य आम्दानी हुने गरेको स्थानीय जितबहादुर भण्डारीले बताए ।

गहुँ खेतीभन्दा ६ गुना बढी फाईदा हुने भएकाले सबै गाउँले मिलेर टमाटर खेतीतिर लागेको उनको भनाइ छ । अहिले आफुले मात्र प्रतिदिन अढाई क्वीन्टलसम्म टमाटर बेच्ने गरेको उनी बताउँछन् ।

तीन बर्ष भारतमा मजदुरी गरेर पनि सोचेजति आम्दानी नभएर गाउँ फर्केका भण्डारीले तीन रोपनी जग्गामा टमाटर खेती गर्दै आएको बताए । हाल बार्षिक २ लाख पचास हजार रुपैयाँ आम्दानी गर्दै आएको उनको भनाइ छ ।

पहिला आफुलाई खानका लागिमात्र उत्पादन गर्ने गरेका उनले एकै बोटबाट १० देखि १५ केजीसम्म टमाटर फल्न थालेपछि ब्यावसायिक रुपमा खेती गरेको बताए । घरमा आर्थिक समस्या भएका कारण भारतमा रोजगारी गरेर जीविका चलाउने गरेको भए पनि गाउँमै अहिले भारतको तुलनामा दोब्बर कमाई हुन थालेको उनी बताउँछन् ।

पछिल्लो समयमा बझाङका ग्रामिण भेगमा ब्यावसायिक तरकारी खेतीतर्फ युवाहरुको आकर्षण बढ्न थालेको छ । जिल्लामा उत्पादन हुने अर्गानिक तरकारीले बाहिरबाट आउने तरकारीको बजारलाई विस्थापित गरिदिएको छ ।

बिएल पास गरि रोजगारीका लागै देशका विभिन्न भागमा भौतारिएका पथुडाका स्थानीय कुम्भ भण्डारीले समेत ब्यावसायिक टमाटर खेती गरेर केदार स्यूँ गाँउपालिका कै उदाहरणीय किसानका रुपमा आफूलाई स्थापित गरेका छन् ।

कात्तिकको पहिलो हप्तादेखि टमाटर उत्पादन सुरु भएको स्थानीय किसान बताउँछन् । माघसम्ममा टमाटरको सिजन सकिने र त्यसपछि काँक्रा लगाउने उनीहरुको योजना छ । 

पथुडा बासीका लागि साईपाल विकास समाजको विकास कार्यक्रम अन्तर्गत गाउँको शीरमा पानी संकलनका लागि पोखरी निर्माण गरिएपछि तरकारी खेती थप राम्रो हुन थालेको स्थानीय किसान बताउँछन् ।