
महोत्तरीको बर्दिवासमा बुधबार नेकपा एमाले बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अब बाहिरी शक्तिमात्र नभइ एमाले र माओवादी केन्द्रकै कुनै नेताको लहडले पनि एकीकरण नटर्ने बताए ।
‘दुवै कम्युनिष्ट पार्टीबीच एकीकरणको कुरा अब घोषणा हुनमात्र बाँकी छ’–उनले भने ।
दुवै पक्षका नेताहरुको व्यस्तताका कारण एकीकरणको कामले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो । वैशाखभित्रै एकीकरण घोषणा भइसक्ने उनले दाबी गरे ।
‘दुवै पक्षका कार्यकर्ता र जनता एकीकरण पर्खेर बसेका छन्’–नेपालले भने–‘यो पर्खाइ अब खेर जाँदैन ।’
प्रदेश नम्बर–२ को विकास र समृद्धिका लागि वाम गठबन्धन र वर्तमान सरकारले योजनाबद्ध काम थाल्ने नेता नेपालले बताए ।
‘हामी निकट भविष्यमै प्रदेश नम्बर–२ मा बृहद् उद्यम भेलाको आयोजन गर्दैर्छौं’–उनले भने ।
प्रदेश नम्बर–२ को विकासका लागि संघीय सरकार प्रदेश सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको नेपालको भनाइ थियो ।
नेता नेपालले बर्दिवास–१४ स्थित राष्ट्रिय आधारभूत विद्यालय पुगेर आर्थिकरुपले कमजोर दुई बालबालिकालाई विद्यालय भर्ना गराइ स्वेच्छिक अभिभावकत्व लिएका छन् ।
औरही–१ की सात वर्षीया सवनम खातुन र बर्दिवास–१४ का पाँच वर्षीय कृष्ण महराको अभिभावकत्व उनले लिएका हुन् ।
सबनम कक्षा–१ मा तथा कृष्णलाई बालकक्षामा भर्ना गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्