
नवीनराज कुइँकेल/ईमेज:
लमजुङ, बैशाख ९ । सँगै जिउने कसम खाएर साइनो गाँसेका जोडीबीच आपसमा समझदारी हुन नसक्दा क्षणभरमै त्यस्तो साइनो पराइमा परिणत हुने गरेको छ ।
एउटै रथका दुई पाँग्रा भनिएका पति–पत्नीबीच बेमेल भएपछि लमजुङमा सम्बन्ध बिच्छेद गर्नेको संख्या बर्षेनी बढ्दै गएको छ ।
जिल्ला अदालत लमजुङको तथ्यांकअनुसार चालु आर्थिक बर्षको फागुनसम्म ८६ वटा सम्बन्ध विच्छेद्का मुद्दा दर्ता भएका छन् । जसमध्ये २२ वटाको फर्सोट भएको छ ।
दुईसय सात वटा मुद्दा दर्ता भएकोमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको देखिन्छ । गत आर्थिक वर्षमा एकसय आठवटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका थिए ।
आर्थिक बर्ष २०७२/०७३ मा १ सय १६ वटा सम्बन्ध विच्छेदका मुद्दा परेका थिए ।
जिल्ला अदालतका श्रेस्तेदार भूमीप्रसाद शर्माका अनुसार आर्थिक बर्ष ०७१/७२ मा एकसय नौवटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए ।
विवाह गरेर एक–दुई महिना बिताएकादेखि ५–६ दशक कटाएकासमेत सम्बन्ध विच्छेद गर्न भन्दै न्यायालयको ढोकामा पुग्ने गरेका छन् ।
पछिल्ला दिनमा महिला आफै नै सम्बन्ध विच्छेदमा अग्रसर भएको देखिन्छ ।
सामाजिक संजालको बढ्दो प्रयोग, वैदेशिक रोजागार, कम उमेरमा विवाह र अन्य पारिवारिक समस्याका कारण सम्वन्धविच्छेद हुने गरेको जिल्ला न्यायधिश कोमलप्रसाद आयार्य बताउँछन् ।
पारिवारिक समस्या भएका कतिपय दम्पतीहरु अदालतमा गएर सम्वन्ध विच्छेद गर्नु भन्दा पहिले प्रहरी कहाँ पनि पुग्ने गरेका छन् ।
सामान्य समस्यालाई मेलमिलाप गराएर फर्काउने गरेको र सम्वन्ध विच्छेद नै गराउन चाहानेहरुलाई अदालत पठाउने गरेको , जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी पदमबहादुर विष्टको भनाइ छ ।
सानो घरायसी झै–झगडाका कारण पनि सिधै सम्बन्ध विच्छेद जस्तो गम्भिर निर्णय गर्ने प्रवृतिका कारण पनि यसको संख्या बढी रहेको सरोकारवाला बताउँछन् ।
बढ्दो सम्बन्ध विच्छेदले सामाजिक, आर्थिक तथा साँस्कृतिक क्षेत्रमा प्रभाव त पारेको छ नै प्रत्यक्ष असर उनीहरुका नाबालक केटाकेटीमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्