
कविराज घिमिरे/ईमेज:
धनकुटा । स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिने एभोकाडो फलको व्यावसायिक खेती हुन सकेको छैन ।
तर पछिल्लो समय धनकुटामा भने यसको व्यावसायिक खेती गर्न किसान आकर्षित भएका छन् । थोरै मेहनतबाटै राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेकाले नै यसको उत्पादनतर्फ आकर्षण बढेको हो ।
खाँदा त्यत्ति स्वादिलो नभएपनि स्वास्थ्यवर्धक मानिएको एभोकाडो फलको व्यावासयिक खेती खासै हुन सकेको छैन । तर पछिल्लो समय धनकुटामा यो फल व्यावसायिक बन्ने तरखरमा छ ।
बि.स. २०४० सालमा अनुसन्धानको लागि आएको ब्रिटिस टोलिले यो फल धनकुटा भित्राएको मानिन्छ ।
यति लामो सयसम्म खासै चासोमा नरहेको यो फलको खेती गर्न कृषकहरु उत्साहित देखिन्छन् ।
कृषकलाई प्रोत्साहित गर्न धनकुटा नगरपालिकाले पनि नगरपालिकालाई एभोकाडोको राजधानी घोषणा गरेको छ ।
त्यसका साथै नगरपालिकाले नर्सरी स्थापना गरी १ लाख विरुवा वितरणको तयारी रहेको मेयर चिन्तन तामाङ बताउँछन् ।
अहिले धनकुटा नगरक्षेत्रमा २६ हजार एभोकाडोको विरुवा किसानले रोपेका छन् । जसमध्ये १२ हजार विरुवा फल लाग्ने खालका छन् ।
धनकुटामा अहिले बार्षिक २ लाख किलो उत्पादन हुने गरेको छ ।
त्यसैगरी धनकुटा जिल्ला एभोकाडोको उत्पादनका लागि नेपालमै उत्कृष्ट रहेको कृषि क्षेत्रका विज्ञ जीवनकुमार राईको विश्लेषण छ ।
थोरै मेहनतवाट राम्रो आम्दानी लिन सकिने भएकाले अहिले भने धनकुटामा यसको खेती बढ्दै गइरहेको छ ।
अर्कोतिर बजारको समस्या नरहेको साथै यसबाट थोरै मिहिनेतमै राम्रो आम्दानी गर्न सकिने धनकुटा नगरपालिका ५ का कृषक गोबिन्द श्रेष्ठको भनाइ छ ।
घिउफल भनेर समेत चिनिने एभोकाडोको अन्य ठाउँमा पनि व्यावसायिक खेति गर्नतर्फ किसानलाई आकर्षित गराउनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्