Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


विश्व बैंककोे ‘डुइङ बिजनेस’ प्रतिवेदनप्रति सरकारको आपत्ति


0
Shares

काठमाडौं, मंसिर १ । नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको ‘डुइङ बिजनेस’ प्रतिवेदनप्रति सरकारले आपत्ति जनाएको छ ।

विश्व बैंकले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपालको व्यापार तथा लगानीको अवस्थालाई कमजोर भन्दै ५ अंक तल झारिएको छ ।

यसअघि, नेपालको अंकभार १०५ थियो । जुन अहिले ११० मा पुगेको छ । 

सातौं कर दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै त्यसको पुनरावलोकन हुने अर्थमन्त्री डा. युवराज खतिवडाले स्पस्ट गरे ।

उनले भने–‘करसम्बन्धी सानो विषयलाई लिएर १०५ बाट ११० मा झारी दिएकामा हाम्रो आपत्ति छ । यसको पुनरावलोकन गर्न हामीले भनिसकेका छौं ।’

सामाजिक सुरक्षा प्रणालीअन्तर्गत् कर्मचारीको कुनैपनि किसिमको कम्पनीले व्यहोर्ने दायित्वको व्यवस्था गरेर कर विवरण बुझाउँदा फारममा सानो समस्या भयो भनेर ५ विन्दुले तल झारिदिएको अर्थमन्त्रीको भनाइ छ ।

नेपालले विश्व बैंकको मूल्यांकनमा समस्या देखाएको जानकारी दिँदै उनले भने–‘विश्व बैंकले मिसन टोली पठाउँछु भनेको छ । पुनरावलोकन हुन्छ ।’

उनले १०५ भन्दा तल आउनका लागि आवश्यक प्रक्रिया अपनाइनेसमेत बताए । कर विवरण जुटाउनमा समस्या छन् भने सुविधा बढाउने उनले बताएका छन् ।

विश्व बैंकले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल डुइङ बिजनेसमा ११०औं स्थानमा छ । अघिल्लो वर्ष १०५औं स्थानमा राखिएको थियो ।

कर तिर्ने प्रक्रिया र ‘पेइङ ट्याक्स’मा नेपाल तल खस्किएको देखाएको हो । उक्त सूचीमा १९० देश समेटिएका थिए । रासस