
काठमाडौं, बैशाख १६ । म्यानमारको उत्तरी राज्य काचिनमा सरकारी सेना र आदिवासी काचिन विद्रोहीबीच तनाव भएपछि हजारौं स्थानीयबासिन्दा पलायन भएका छन् ।
काचिन विद्रोहीमाथि सरकारी सेनाले हवाई तथा स्थलगत आक्रमण गरेपछि हजारौं स्थानीय पलायन भएका हुन् ।
सरकारी सेना र विद्रोहीबीच झडप भएपछि सयौं आदिवासी युद्धग्रस्त क्षेत्रमा फसिरहेका छन् ।
चीनसँग सीमा जोडिएको काचिनका दशौं हजार स्थानीयबासिन्दाले घरवार छाडेर भागेको संयुक्त राष्ट्र संघले जनाएको छ ।
त्यहाँ काचिन आदिवासी समुदायले स्वतन्त्र राज्यको माग गर्दै लामो समयदेखि सशस्त्र आन्दोलन गर्दै आएको छ ।
पछिल्लो पटक सरकारी फौजले हवाई र तोप हमला गरेपछि काचिनमा हिंसा भड्किएको हो ।
संयुक्त राष्ट्रसंघले गत अप्रिलदेखि शुरु भएको दुई समूहबीचको युद्धको चपेटामा परेकाहरुका लागि मानविय सहायताको खाँचो रहेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको छ ।
म्यानमारको पश्चिमी क्षेत्रमा रहेको रोहिंग्या मुस्लिमहरुको संकटबाहेक उत्तरी क्षेत्रमा पनि जातीय अल्पसंख्यक र सरकारी सेनाबीच झडप हुने गरेको बीबीसीले जनाएको छ ।
सन् २०११ मा सरकारी पक्ष र विद्रोहीबीच युद्ध विराम भंग भएपछि म्यानमारको उत्तरी राज्यमा युद्ध शुरु भएको हो ।
यसैबीच सर्वसाधारणमाथिको सरकारी दमन र अन्तर्राष्ट्रिय सहायता कोषका प्रतिनिधीलाई म्यानमार प्रवेश गर्न नदिएको भन्दै म्यानमारकी नेतृ आङसाङ सुचीको पनि व्यापक विरोध भइरहेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्