२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


इलाम पुगेपछि घुम्नैपर्ने नयाँ १० गन्तब्य (हेर्नुहोस १५ तस्विर)


0
Shares

-युवराज गौतम/ईमेज,
तस्विर सौजन्यः हरि गुरुङ/
इलाम, बैशाख १६ । प्रकृति र संस्कृति पर्याय मानिएको इलामका हरिया चियाबारी, कोणधारी सल्लाघारी, नागबेली सडक, मिलेका डाँडा साथै लोपोन्मुख जातजातिको पहिचान बुझेकाहरुले इलाम पुगेरै छाड्ने प्रण गर्छन र पुगेर भरपुर रमाइलो समेत गर्छन ।

त्यही भएर इलाम पुगेका पर्यटकलाई प्रकृतिमा लठ्याएर अनि संस्कृतिमा भूल्याएर इलामले बार्षिक डेढ लाख बढी पर्यटक भित्र्याइरहेको छ ।

सुरम्य प्राकृतिक छटा एवं ऐतिहासिक सांस्कृतिक सम्पदाले देश विदेशका मानिसहरुलाई इलामले तानिरहेको छ ।

जोरकलशको पर्यटन सूचना केन्द्रमा बसेर इलामका पर्यटकीय स्थलहरुका बारेमा ‘ब्रिफिङ’ दिइरहेका गगन घिमिरेकै शब्द सापटी लिने हो भने ‘दोस्रो पटक यता घुम्न आएकाहरुले पछिल्लो समयमा चर्चा कमाएका नयाँ गन्तब्यहरु पुगेर मस्ती गर्न रुचाइरहेका छन् ।’

हुन पनि इलामा दुरदराज देखि सुगम स्थानमा पहिचान गरिएका नयाँ पर्यटकीय स्थलहरुले पर्यटक तान्न सफल देखिएका छन् ।

हल्का भिराला पहाड र स-साना थुम्काथुम्कीमा भरिएका चियाका बुटाले मानिसहरुलाई पुलकित बनाइरहेको छ । ‘चिया-पर्यटन’ माध्यमबाट इलामले अर्को प्रगति गरिरहेको छ ।

विभिन्न समयमा भइरहेका पर्यटन महोत्सव, मेला तथा सभा सम्मेलनले पनि इलामको पर्यटनमा थप हौसला मिलेको छ ।

पुराना पर्यटकीय स्थलहरु कन्याम, अन्तुडाँडा, माइपोखरी, सन्दकपुर, पाथिभरा, गजुरमुखी जस्ता पर्यटकीय स्थलले व्यवसायिक रुपमा आर्थिक उपार्जन गर्न थालेपछि नयाँ पर्यटकीय गन्तब्यहरुले पर्यटक तान्न थालेका छन् ।

इलाम पर्यटन सरोकार समितिका अध्यक्ष विजय राई भन्छन, ‘पुराना पर्यटकीय स्थलहरुले प्रचारसँगै व्यवसायिक रुपमा अघि बढीसकेकाले हामी नयाँ गन्तब्यहरुको पहिचान र प्रचारको नयाँ अभियानमा छौं ।’

हुन पनि पछिल्लो समयमा इलाममा नयाँ पर्यटकीय गन्तब्यहरुले चर्चासँगै पर्यटक भित्राउन थालिसकेका छन् ।

अध्यक्ष राईका अनुसार जिल्लाका सबै क्षेत्र र स्थानीय तहका पर्यटकीय स्थलहरुको अध्ययन र अवलोकन गरेर अवधारणा विकासका कामहरु भइरहेका छन् । चिया-पर्यटनको प्रवद्र्धन पनि थालिएको छ । ‘टि-टेस्टिङ’का लागि विदेशी पर्यटकहरु आउन थालेका छन् ।

साहसिक पर्यटन, खेल पर्यटन जस्ता विधागत क्षेत्रले थप फड्को मार्न थालेको छ । पछिल्लो समयमा नयाँ पर्यटकीय गन्तब्यहरुले पर्यटक तान्न र भूल्याउन थालेको छ । चर्चा गर्न लायक केही नयाँ गन्तब्यहरुः

ढापपोखरी

dhappokhari5
छोटो समयमा धेरै चर्चा कमाएको ढापपोखरी आन्तरिक पर्यटकहरुका लागि रोजाइमा परिरहेको छ । स्थानीयको संरक्षणपछि विस्तार भएको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएपछि पर्यटकको आकर्षण बढेको हो ।

५० रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको पोखरी, आसपासको चियाबारी र रमणीय स्थानका कारण ढापपोखरीमा आगन्तुकको ध्यान बढ्दै गएको हो । सदरमुकामबाट २२ किलोमिटर उत्तरको ढापपोखरीमा रमाइलो गर्न र घुम्नका लागि उपयुक्त गन्तब्य हो ।

पोखरी विस्तार गरेपछि यहाँ सात हजार माछा समेत हालिएको छ । ढुंगा संचालनमा ल्याइएको छ । पोखरीको दक्षिणी क्षेत्रमा माटोको डाँडा बनाइएको छ । जसलाई सेल्फीडाँडा उपनाम दिइएको छ ।

यो पोखरीलाई धार्मिक आस्थाको केन्द्रका रूपमा पनि मानिँदै आएको छ । हरेक वर्ष वैशाख १ गते हिन्दु, बौद्ध, किरातलगायत धर्मावलम्बीले सामूहिक रूपमा पूजाआजा गर्ने चलन बसेको छ । भर्खरै आयोजना गरिएको महोत्सवपछि यस स्थानको चर्चा चुलिएको छ ।

सुदरेपानी

sundarpani2

सुदरेपानी नेपालमा चिया–पर्यटनको विकास सुरु गर्ने स्थानका रुपमा परिचित छ । स्थानीय गोर्खा टी-स्टेट संचालनमा आएपछि यहाँ पर्यटनका सम्भावनाहरु बढ्दै गएका छन् ।

यहाँ टि टुरिज्मको अवधारणा अनुरुप होम स्टे पनि संचालनमा ल्याइएको छ । सूर्योदयन गरपालिका–१० फिक्कल बजारबाट करिब दुई किलोमिटर टाढा रहेको यस स्थानमा योल्मू तथा राई समुदायको संस्कृती हेर्न र घरेलु हाते चियाको स्वाद लिंदै पर्यटकहरु रमाउन पुग्ने गर्छन ।

यहाँ पुगेपछि हरियाली डाँडामा बसेर रमाउने मात्र नभई चियाबारी भित्र ‘सर्ट हाइकिङ’मा पनि रमाउन सकिन्छ । होम स्टे र सुविधा सम्पन्न होटलहरु यहाँ खुलिसकेका छन् ।

मिर्मिरे डाँडा र घोडचढी

horse-riding-kanyam4

चारैतिर चियावारी । डाँडा माथि सानो कच्चि टावर । टावरमा बसेर हेर्दा देखिने तराइका समथर फाँटहरु । दार्जिलिङ र इलामका अग्ला पहाडहरु । अनि टलक्क टल्किरहेको कञ्चनजंगा हिमालको मनमोहक दृश्य ।

त्यो भन्दा पनि महत्वपूर्ण त बंगोप सागरबाट उदाउँदो सूर्योदयको दृश्य आँखै अगाडी । वास्तवमा इलाम कन्याममा रहेको मिर्मिरे डाँडाको चित्रण यस्तै छ ।

विहानीको मिर्मिरेमा पश्चिम बंगालको खाडी तथा बंगोप सागरको छालबाट उदाउने सूर्योदयको दृश्यावलोकनका मिर्मिरे अब्बल गन्तब्य हो ।

मेची राजमार्गसँगै जोडिएको कन्याम स्थित चियाबगाको थाप्लोमा पर्ने मिर्मिरे डाँडामा सूर्योदय दृश्यावलोकनका लागि अब्बल मानिन्छ । कन्याम इन होटलबाट पाँच मिनेट हिडें यो डाँडामा पुग्न सकिन्छ ।

यहाँबाट विहान आठ मिनेटसम्म सूर्योदय भएको दृश्यावलोकन गर्न सकिन्छ ।

डाँडाबाट सेतै हिउँले ढाकेको कुम्भकर्ण र कञ्चनजंगा हिमाल मात्र होइन भारतको खर्साङ, मिरिक, सिलिगुढी जस्ता स्थान तथा अन्तुडाँडा, पशुपतिनगर बजार, तराईका सुन्दर फाँटहरु साथै आखैभरी चियावारीको दृश्यावलोकन पनि गर्न सकिन्छ । त्यसपछि हुरहुरे भन्ज्याङमा पुगेर घोडचढीमा रमाउन सकिन्छ । बास बस्नका लागि यहाँ सुविधा सम्पन्न होटलहरु खुलेका छन् ।

सिमपानी

simpani3

सुर्योदय नगरपालिकाको डाक्टरखोला नजिकै पर्ने सिमपानी क्षेत्र खुबै मनोरम स्थल मध्ये एक हो । डाँडाभरी चियावारी, रमाइलो खेलमैदान, सानो पोखरी सिमपानीको आकर्षण हो । यहाँ पुगेर पर्यटकले घन्टौ विताउन सक्छन् ।

नजिकै रहेको चिया कारखानाको भ्रमण गरेर चिया प्रशोधनको प्रक्रिया बुझ्न पर्यटकलाई सजिलो हुन्छ ।

मेची राजमार्गसँगै रहेको सिमपानी आसपासका डाँडामा बसेर कन्यामको चियाबारी, फिक्कल बजार, ग्रामीण बस्तीहरु साथै भारतीय बजारहरुको मजाले अवलोकन गर्न सकिन्छ ।

यो क्षेत्रमा सानातिना कटेज र रिसोर्ट संचालनका लागि उपयुक्त मानिन्छ ।

ओढारे भालुढुङ्गा

bhludhunga1

इलाम नगरपालिका भित्र पर्ने गढीथुम्कामा पर्ने ओढारे भालुढुङ्गा क्षेत्र यतिबेला चर्चामा रहेको गन्तब्य हो । सामुदायिक बन क्षेत्र भित्र हरियाली रहेको यो स्थान घुम्नका लागि उपयुक्त मानिन्छ ।

भालुढुङ्गा ओढारकै सामुन्नेबाट २० मिटर पश्चिमतर्फ जाने वित्तिकै पहरामुनि गुफा भेटिएपछि गुफा हेर्नकै लागि यहाँ पर्यटकहरु झुम्मिरहेका छन् ।

गुफासँगै यहाँ पर्यटक भुल्याउने आकर्षक संरचनाहरु निर्माण भएका छन । इलाम बजारबाट तीन किलोमिटरको दुरीमा रहेको यो स्थानसम्म पैदल वा गाडी दुवैमार्फत पुग्न सकिन्छ ।

मोटरसाइकलमा हुकिएर दैनिक दर्जनौं जोडी पर्यटकहरु यहाँ पुगिरहेका छन् । बन क्षेत्र पर्ने भएकाले यहाँ पुगिसकेपछि सर्ट हाइकिङ, फरेस्ट वाथ, फुट ट्रेलको बेग्लै मजा लिन सकिन्छ ।

यहाँबाट सुन्दर गाउँबस्ती, चुरेघाँटीको गुम्बा, सन्दकपुर, छिन्तापु, बेंसीका सुन्दर फाँटहरु, पुवाखोलाको मजाले दृश्यावलोकन गर्न सकिन्छ । यहाँको गुफाको नामाकरण गरिएको छैन ।

ओढारे भालुढुङ्गा झै नयाँ गुफाको पस्ने द्वार सानो भएपनि भित्र पुगेपछि उभिन र हिडडुल गर्न सकिने ठाउँ छ । यहाँ भर्खरै होम स्टे पनि संचालनमा ल्याइएको छ ।

पानीटार

panitarfinal

इलाम सदरमुकामवाट २५ किलोमिटर पश्चिममा रहेको पानीटार चिया बगानमा मात्र सिमित छैन । यहाँ पोखरी र देविस्थान, खेलमैदान र रमणीय स्थानहरुको दृष्यावलोकनले पर्यटकलाई आकर्षित गरिरहेको छ ।

देउमाई नगरपालिका ३ मा पर्ने पानीटारमा सुन्दर बगैंचा समेत निर्माण गरिएको छ । चियाबगानले घेरिएको पानीटारको डाँडामा बसेर तराईका सुन्दर फाँटहरुको मजाले अवलोकन गर्न सकिन्छ ।

मौसम खुलेको बेला अर्थात असोजदेखि बैशाखसम्मको समय पानीटार घुम्न मजा आउँछ ।

नव विवाहित र लभजोडीहरुको आकर्षण बनेको पानीटारको थुम्कोमा बसेर झापा, इलाम, मोरङ सुनसरी, पाँचथरका रमणीय स्थलहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

पानीटार आसपास सिद्धिथुम्काडाँडा, अजम्बरे डाँडा, जीतपुरको झ्याउपोखरी जस्ता पर्यटकीय क्षेत्र पनि नजिकै रहेका छन् । यहाँ खान बस्नका लागि होटलहरु नभए पनि होमस्टेका रुपमा बास बस्न सकिन्छ ।

महभीरको रक क्लाइम्बिङ

rockc-ilam

इलामका लागि नौलो र आकर्षक मानिएको मानिएको इलाम नगरपालिका–७ महभीरको रक क्लाइम्बिङ यहाँको नयाँ गन्तब्य बनेको छ । करिब ५० मिटर अग्लो पहरामा रक क्लाइम्बिङको व्यवस्था मिलाइएको छ ।

रक क्लाइम्बिङ नयाँ र आकर्षण भएकाले साहसिक पर्यटनमा रमाउन चाहने पर्यटकहरु यहाँ पुग्ने गरेका छन् ।

यहाँ क्यारेबियन रेप्लिङ, अस्ट्रेलियन, चिम्नी क्लाइम्बिङ, लिजट क्लाइम्बिङजस्ता खेलहरू प्रदर्शन गर्न सकिन्छ । इलाम बजारका होटलमा बास बसेर रक क्लाइम्बिङका लागि जान सकिन्छ ।

राजदुवाली रिभर साइट

maikholafinal

माइखोलाको किनारमा पर्ने राजदुवाली पर्यटनको रमाइलो गन्तब्य हो । खोलामा पौडी खेलेर रमाउन र माछाका परिकारहरु खाएर मजा लिन राजदुवाली आकर्षक मानिन्छ ।

त्यतिमात्र नभइ इलाम नगरपालिका–१० स्थित राजदुवाली टापुमा रहेको अनौठो ओडार पर्यटक भुल्याउने गन्तब्य बनेको छ ।

पिकनीकमा रमाउन पनि माइखोलाको बगर तथा राजदुवाली क्षेत्र रोजाइमा पर्ने गरेको छ । सदरमुकामका सुविधा सम्पन्न होटलमा बास बसेर राजदुवालीमा आएर रमाउन सकिन्छ ।

हाँङेथाम-चोयाटार

red-pandaaaaa

जैविक विविधताले महत्वपूर्ण मानिएको चोयाटार सामुदायिक वन क्षेत्र विश्वबाट लोप हुन लागेको जनावर रेडपाण्डालाई संरक्षित गरेर पर्यटन गन्तब्य बनाइएको छ ।

रेडपाण्डा हेर्न का लागि एसियाली मुलुकबाट मात्र नभई पश्चिमा देशका पर्यटकहरु पनि आइरहेका छन् । पर्यटकलाई रेडपाण्डा देखाउन सामुदायिक वनमा पोर्टर, वन अभिभावक तथा गाइडको व्यवस्था गरिएको छ ।

वन समूहले रेडपाण्डा हेर्न चाहाने पर्यटकबाट शुल्क लिने गर्छ । यस भेगका इलामको तुम्लिङदेखि पाँचथरको फालोटसम्मको सिहंलिला नेशनल पार्क क्षेत्र भित्र पनि रेडपान्डा हेर्न पर्यटक झुम्मिने गर्छन ।

रेडपान्डा हेर्नकै लागि मानेभञ्ज्याङ, चित्रे, मेघ्मा, तुम्लिङ, जौवारी, गैरिवास, कैँयाकट्टा, कालपोखरी, बिर्खभञ्ज्याङ र सन्दकपुर क्षेत्रमा पर्यटक आउने गर्छन ।

यहाँ आएपछि पर्यटकले कञ्चनजंघा, सगरमाथालगायतका हिमशृङ्खला, राष्ट्रिय फूल लालीगुराँस, लोपोन्मुख जडीबुटी, हिमाली जीवनशैलीको अवलोकन गरेर रमाउने गर्छन ।

इलाम सदरमुकामबाट सवारी साधनको सहायतामा चोयाटार पुग्न सकिन्छ । यस क्षेत्रमा होटल तथा होमस्टेको व्यवस्था गरिएको छ ।

माङसेबुङ्ग र माङमालुङ

Mangmalungfinal

धार्मिङ तथा सांस्कृतिक महत्व बोकेको माङसेबुङ र माङमालुङ क्षेत्र किरात धर्म र संस्कृतिको आस्थाको केन्द्र हो ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनद्वारा प्रारम्भ गरिएका समाज सुधारका कामहरुका कारण यो क्षेत्र चर्चित छ । किरात भाषा र लिपीको अध्ययन गर्न यहाँ पर्यटकहरु पुग्छन ।

यहाँ किराँत शिवालय, चक्रपथ, आश्रमहरु निर्माण गरिएको छ । यता माङमालुङ्ग क्षेत्रमा एउटै औलाले हल्लाउन सकिने तर धेरैजनाले पल्टाउन नसकिने अलौकिक ढुंगाका कारण चर्चित छ ।

यहाँ गुफा, ढुंगाका विभिन्न आकृति र देवस्थलहरु छन् । होटलको राम्रो प्रवन्ध नभए पनि यहाँ आश्रममा गएर बास बस्न सकिन्छ ।

विशेष गरी शाहकारी भोजन गरेर बेग्लै मजा लिन सकिन्छ । झापाको दमकबाट यहाँसम्मको यात्रा गर्न सकिन्छ ।

कोशेली आइटम

ilammm_1
इलामको चिनो भनेको विभिन्न ढाँचामा फ्रेमिङ गरिएका तस्विर र ढाकाका कपडा हुन । ललिपप, बम्बइसन, छुर्पी, बोतलमा राखिएको अकबरे, चियाका आकर्षक प्याकेज पर्यटकले खरिद गर्न छुटाउँदैनन् ।

tourist1

kanyamfinal

antufinal

lovehil