काठमाडौं, कात्तिक ३० । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट आगामी माघ १९ गतेदेखि हुने भएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडमी (डीसीए)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ १९ देखि फागुन ४ गतेसम्म फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने जनाएको हो ।
यसअघिका संस्करणजस्तै योपटक पनि ६ फ्रेन्चाइज टोलीहरु चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंगसले खेल्नेछन् ।
‘राउन्ड रोबिन लिग’का आधारमा सन्चालन हुने प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
लिगका शीर्ष चार टिम टिममध्ये पहिलो र दोस्रो हुनेले फाइनल प्रवेशका लागि खेल्नेछन् भने पराजित हुने टिमले तेस्रो र चौथो टिमको विजेतासित फाइनलका लागि फेरि खेल्नेछ ।
पाँच करोड रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताका लागि विजय डिस्टिलरीले एक करोड १० लाख रुपैयाँको मुख्य प्रायोजन गर्ने आयोजकले जनाएको छ ।
हरेक टिममा हुने १५ खेलाडीमध्ये दुई विदेशी र ‘ट्यालेन्ट हन्ट’बाट आएका एक खेलाडीलाई अनिवार्य गरिएको छ ।
दोस्रो संस्करणमा विजेतालाई २५ लाख रुपैयाँ दिइएकामा अहिले दिने रकम भने खुलाइएको छैन ।
डीपीएल क्रिकेटबाटै नेपालमा पहिलोपटक खेलाडी ‘अक्सन’मार्फत् छानिएका थिए । चौराहा धनगढी दुवै संस्करणको विजेता टिम हो ।








प्रतिक्रिया दिनुहोस्