काठमाडौं, कात्तिक ३० । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘कोलम्बो प्रोसेस’ बैठकले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई सहजीकरण हुने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौंमा ‘कोलम्बो प्रोसेस’मा आबद्ध राष्ट्रहरुको छैटौं मन्त्रीस्तरीय परामर्श बैठकलाई सम्बोधन गर्दै उनले श्रमिकमाथि हुने शोषण र विभेदको न्यूनीकरण गर्न बैठकले सहयोग पुर्याउने बताए ।
बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको सुरक्षा विकासका लागि पनि बैठक महत्वपूर्ण रहेको बताए ।
यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कोलम्बो प्रोसेस बैठकले श्रमका क्षेत्रमा देखिएका चुनौतीहरुको अन्त्य गर्नका लागि सहयोग गर्ने धारणा राखे ।
यो बैठकले श्रमिकको स्वास्थ्य सुरक्षा र न्यूनतम् ज्यालासमेत तोक्ने भएकाले श्रमिकको सुरक्षाका लागि महत्वपूर्ण रहेको उनले बताए ।
बैठकमा नेपालसहित एसियाका १२ ओटा देशहरुको सहभागिता रहेको छ । नेपालले बैठकको अध्यक्षता गरिरहेको छ ।
दुईदिने बैठक बिहीबारदेखि सुरु भएको हो । बिहीबार सदस्य राष्ट्रहरुका उच्च अधिकारीहरुको बैठक बसेको थियो । शुक्रबार काठमाडौं घोषणापत्र जारी गर्दै बैठक सकिनेछ ।
अन्तर्राष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श गर्ने उद्देश्यले ‘कोलम्बो प्रोसेस’ सन्चालित छ । यसमा १२ राष्ट्र सदस्य र ८ राष्ट्र पर्यवेक्षककारूपमा आबद्ध छन् ।
अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड र भियतनाम कोलम्बो प्रोसेसका सदस्य राष्ट्र हुन् ।
सन् २०१७ मार्च २९ देखि नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको हो ।









प्रतिक्रिया दिनुहोस्