Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


ठेकेदारले भुक्तानी नपाएपछि नवलपुर–मलंगवा सडक कालोपत्रे गर्ने काम प्रभावित


0
Shares

सर्लाही, कात्तिक ३० । ठेकेदारले समयमै पैसा नपाउँदा सर्लाहीको नवलपुर–मलंगवा सडक कालोपत्रेको काममा असर परेको छ । 

नवलपुरदेखि हरिपुर हुँदै मलंगवासम्म दुई खण्डमा निर्माण भइरहेको सडक बनाउने ठेकेदारले दसैं अघिदेखि नै भुक्तानी पाएका छैनन् । हुलाकी सडक आयोजना जनकपुरका प्रमुख सन्तोषकुमार कर्णको दसैंअघि नै सरुवा भएपछि ठेकेदारलाई भुक्तानी लिन समस्या भएको हो ।

रकम निकासा नहुँदा दशैं, तिहार, छठजस्ता प्रमुख पर्वमा समेत मेसिनरी सर–सामानको भाडा र मजदुरको ज्याला तिर्न नसकेको ठेकेदारको गुनासो छ ।

हुलाकी सडक आयोजना जनकपुरका सव–इन्जिनियर कपिल काफ्लेले कार्यालय प्रमुख नहुँदा ठेकेदारको रकम निकासा गर्न समस्या भएको जानकारी दिए । नयाँ कार्यालय प्रमुख नआउञ्जेल भुक्तानी पर्खिदिन र कामलाई जारी राख्न ठेकेदारसँग आग्रह गरिएको उनले बताए ।

दश वर्षदेखि जीर्ण नवलपुर–मलंगवा सडकखण्ड दसैं अघिदेखि कालोपत्रे गर्न सुरु गरिएको हो । नवलपुरदेखि हरिपुरसम्म र कविलासीमा केही किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

मजदुरहरु चाडबाड मनाउन घर गएकाले केहि दिनदेखि काम रोकिएको छ ।