प्रदिप पौडेल
पोखरा, कात्तिक ३० । नेपालको कुल २६ सय ५० हेक्टर जमिनमा कफी लगाइए पनि कफीमा आत्मनिर्भर हुन नसकेको पोखरामा शुक्रबार आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
१४ औँ राष्ट्रिय कफी दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा उत्पादित अर्गानिक कफी दक्षिण कोरिया, जर्मनी, अमेरिका र क्यानडामा निर्यात हुने गरेको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए ।
कोरियामा गुल्मी र सिन्धुपाल्चोकको, जर्मनमा ललितपुरको र अन्य ठाउँको कफी अमेरिका र क्यानडामा जाने गरेको उनले बताए । नेपालमा ११ लाख ९८ हजार ५ सय ३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने भए पनि ६१ हजार २ सय १८ हेक्टर क्षेत्रफल कफीका लागि अति उत्तम रहेको उनको भनाइ थियो ।
नेपालमा ५ सय ३१ मेट्रिकटन ग्रीन कफी उत्पादन हुने गरेको छ भने गत वर्षको तुलनामा यो १० प्रतिशत वृद्धि भएको उनले बताए । कफी खेतीको विस्तारवृद्धि भए पनि व्यवसायिक रुपमा कफी खेती हुन सकेको छैन । गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा, स्याङजा जिल्लालाई कफीका सम्भावित सुपरजोनको रुपमा विकास गरि व्यवसायिकता बनाउन सरकार लागि परेको उनले बताए ।
नेपालका ठुला व्यवसायी र लगानीकर्ताको आँखा कफी खेतीतर्फ गएमात्रै उत्पादन बढ्न सक्ने बोर्डको भनाइ छ । बोर्डले मंसिर १ देखि लागु हुने गरि कफीको मूल्य निर्धारण गरेको छ । जसअनुसार ग्रेड ए को प्रतिकेजी अर्गानिक कफी ८५ रुपैँया, ग्रेड बी को प्रतिकेजी ८० रुपैँया, पार्चमेन्ट कफीको प्रतिकेजी ४१० देखि ४५० रुपैँया, ड्राइ चेरीको प्रति केजी ४० देखि १४० रुपैँयासम्म रहेको छ ।
अर्थिक वर्ष २०७४/७५ मा १६३ मेट्रिक टन कफी निर्यात भएको छ भने ८४ मेट्रिक टन कफी आयात भएको छ । आर्थिक वर्ष २०७३/७४ मा ९९ मेट्रिक टन कफीको निर्यात हुँदा ९४ मेट्रिक टन आयात भएको कार्यकारी निर्देशक गौतमले बताए ।
देशमा कफी कृषकहरु ३२ हजार भए पनि व्यवसायिक रुपमा खेती गर्नेको संख्या थोरै छ । कृषकलाई प्रविधिमैत्री बनाउन सकेमात्रै उत्पादन बढ्नेछ ।
बोर्डले मंसिर १ लाई राष्ट्रिय कफी दिवसको रुपमा मनाउँदै आएको छ भने सो अवसरमा शनिबार देशभरका कफी कृषकहरु पोखरामा भेला हुँदैछन् ।









प्रतिक्रिया दिनुहोस्