
सिन्डिकेट तोडेरै छाड्ने सरकारको अठोटलाई झुकाउन भन्दै व्यवसायी गाडी थन्क्याएर हडतालमा उत्रेपछि त्यसको चपेटमा भने नागरिक परेका हुन् ।
यातायात व्यवसायीको सिन्डिकेट तोड्ने सरकारी दृढता झुकाउने माध्यमकारुपमा व्यवसायीले हडताललाई रोजे । जसको सीधा असर दैनिक सार्वजनिक यातायातको साधन प्रयोग गर्नुपर्ने सर्वसाधारण यात्रीमा प¥यो ।
सरकारलाई घुँडा टेकाउन व्यवसायीले आफ्ना सवारी–साधन ग्यारेजमा थन्क्याएका हुन् ।
सार्वजनिक सडक यातायातमा लामो समयदेखि एकाधिकार जमाउँदै आएका व्यवसायीविरुद्ध अरु व्यवसायीले नयाँ गाडी चलाउने प्रयास गर्दा नदिएर रोकेपछि सरकारले सिन्डिकेट तोड्ने निर्णय गर्दै देशभरको सडक सबैका लागि एकसाथ खुला गरेको हो ।
सरकारको निर्णयले आफ्नो स्वर्थमा सीधा असर परेपछि उनीहरुले गाडी नचलाएर आमउपभोक्तामाथि नै प्रहार गरेका हुन् । जसको सोझो असर सर्वसाधारण र निम्न वर्गीय जनतामा पर्ने त भइगयो ।
निजी सवारीवाहकलाई प्रत्यक्ष असर नपरेपनि सधैं सार्वजनिक यातायात प्रयोग गर्ने कर्मचारी, सर्वसाधारण, विद्यार्थी, मजदूरले पैदलैबाट दूरी नाप्नुपर्ने भयो ।
६० हजारभन्दा बढी सार्वजनिक यातायातका साधन चल्ने प्रदेश नम्बर–४ मा पनि हडतालको सीधा मार पर्यो ।
यातायात व्यवसायीले सरकारलाई झुकाउन भन्दै सर्वसाधारणलाई सताउने बाटो रोजेकामा सबैजसो रुस्ट देखिएका छन् । यस्ता हडताल स्वयं व्यवसायीकै लागि प्रत्युत्पादक हुनसक्छ ।
प्रदेशका भौतिक योजना तथा यातायातमन्त्री रामशरण बस्नेतले वार्ताबाट समाधान खोज्न व्यवसायीलाई आग्रह गरे ।
आन्दोलित पृथ्वी राजमार्ग बस सन्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीको तर्क भने सिन्डिकेटमा नरहेको र आलोपालो प्रणालीमार्फत् यातायात सन्चालन गरेको भन्ने छ ।
व्यवसायीलाई करको दायरामा ल्याउन नियम–कानुन बनाएमा मान्न तयार रहेको उनको भनाइ छ ।
पोखरामामात्रै पृथ्वी राजमार्गअन्तर्गका लामो रुटमा १ हजार ४०० बस चल्दछन् । पोखरा बस व्यवसायीअन्तर्गत् नगरबस ४०० ओटा छन् । पोखरामा भाडाका ट्याक्सी पाँच हजार बढी गुड्छन् ।
प्रतिक्रिया दिनुहोस्