Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


इटहरीमा गुडिरहेको बसमा बम प्रहार


0
Shares

धरानबाट काँकडभिट्टतर्फ जाँदै गरेको मे१ख २७३४ नम्बरको सूर्योदय दिवासेवाको बसलाई लक्षित गरी बाहिरबाट फालिएको वस्तु विस्फोट हुँदा सोही बसमा यात्रारत् धरान–१६ का तीन वर्षीय हेलेन गौतमको टाउकोमा सामान्य चोट लागेको छ ।

इटहरीचोकदेखि करिब ४०० मिटर उत्तरतर्फको सडकमा गुडिरहेको यात्रीबाहक बसमा अकस्मात् कसैले विस्फोट हुने वस्तु प्रहार गरेको र त्यो वस्तु बसबाहिर लागेर आवाजसहित विस्फोट भएको बसका चालक धनबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

विस्फोटक वस्तु पड्कँदा बसमा सामान्य नोक्सानी भएको र त्यो कस्तो विस्फोटक वस्तु हो भन्ने विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।

विस्फोट भएको क्षेत्रमा दुईजना युवाले केही वस्तु फालेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । तर, उनीहरु को हुन् भन्ने पहिचान भने हुन नसकेको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले आफ्ना नेता तथा कार्यकर्ता रिहाइका लागि सरकारलाई दबाब दिनका लागि शनिबार बन्द आह्वान गरेका कारण उक्त विस्फोट पनि नेपाल कम्युनिष्ट पार्टीले गरेको हो कि भन्ने आशंका गरिएको छ । रासस