
डीबी विष्ट/ईमेज:
बझाङ, बैशाख २५ । सरकारले बालबालिका विद्यालय भर्ना अभियान तीब्र पार्दै लगेको छ ।
तर बझाङका दलित बालबालिका भने विद्यालयमा भर्ना भएर पनि बिचैमा कक्षा छाड्छन् । जसले माथिल्लो कक्षामा पुग्ने विद्यार्थीको संख्या घट्दो छ
दलित समुदायका बालबालिका विद्यालय भर्ना भएर पनि बिचैमा छाड्ने गरेका छन् ।
परिवारको आर्थिक अवस्था कमजोर हुँदा बालबालिकाहरु पनि अभिभावकसँगै रोजगारीका लागि भारत जाने हुँदा धेरैले बीचमै विद्यालय छाड्ने गरेका हुन् ।
आर्थिक र पारिवारिक समस्याका कारण आफ्ना छोराछोरीलाई निरन्तर विद्यालयमा पठाउन नसकेको अभिभावकहरु बताउँछन् । अधिकांश वादी समुदायका बालबालिकाले बीचैमा विद्यालय छाड्ने गरेका हुन् ।
घरमा खान र लगाउनकै समस्या भएकाले विद्यालय जान नसकेको उनीहरु बताउँछन् । केदारस्युँ गाँउपालिकाको सेकुगाँउको एउटै टोलमा १६ वर्ष मुनीका २० जनाले विचैमै स्कुल छोडेको भेटिएको छ ।
यसैगरी झोताको दलितबस्ती कुच, थलारा पिखेत, खोली, खानी गाँउ बगडगाँउ, गुमै गाउँमा रहेका दलित वस्तीमा पनि १६ वर्ष मुनिका स्कुल पढ्ने उमेरका १ सय ५५ बालवालिकाले बीचैमा विद्यालय छाडेका छन् ।
जिल्लामा हाल चार सयभन्दा बढी विद्यालय छन् । ती विद्यालयमा १० हजार दलित बालबालिका अध्ययन छन् । तर यस वर्ष मात्रै ५ सयभन्दा बालबालिकाले विद्यालय छाडेका छन् ।
वादी समुदायका मानिस दिनभर ज्यालामजदुरी गर्ने गर्दछन् । कतिपयले छोराछोरीलाई विद्यालय भर्ना नै गर्न नसकिएको गुनासो गरेका छन् ।
बिहान–बेलुकाको छाक टार्नै हम्मेहम्मे भइरहेको अवस्थामा विद्यालयमा जाने बालबालिकासँग विद्यालयले नै साबुनसमेत लिएर आउन भनेपछि भर्ना गर्नै नसकिएको अभिभावकको गुनासो छ ।
जिल्ला शिक्षा कार्यालयका निमित्त प्रमुख सुरेन्द्र कठायतले अभिभावकका समस्या समाधान गरेर बालबालिकालाई अध्ययनको वातावरण सिर्जना गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने अवस्था आएको बताए ।
सरकारले बालबालिकालाई विद्यालय भर्ना गराउने अभियान चलाएको १२ वर्ष बितिसकेको छ ।
यसबीचमा धेरै बालबालिका विद्यालय भर्ना भएका छन् । तर बझाङ जस्तो पिछडिएको क्षेत्रमा भने सरकारी अभियान सफल हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्