
बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउतसँग मंगलबार बयान लिइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले सुन तस्करी र सनम शाक्यको हत्यामा प्रहरीसहित ६३ जनालाई प्रतिवादी बनाएर गत बिहीबार जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो ।
उनीहरुमाथि सन् २०१५ यता ३८ क्विन्टल सुन चोरी–निकासी गरेको दावीसहित सुन चोरी–निकासीको अवैध कारोबार, अपरहण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुर्दा दर्ता गरिएको छ ।
बयान भइसकेका अभियुक्तमध्ये बहालवाला एसएसपी दिवेश लोहनीसहित पूर्वडीआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सइ बालकृष्ण सन्जेल र प्रहरीजवान विष्णुबहादुर खड्काविरुद्ध संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।
त्यस्तै, विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलांगे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ ।
मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, ‘माधव’ भनिने मोहन घिमिरेलाई कर्तव्य ज्यान र संगठित अपराध मुद्दा चलाइएको छ ।
प्रहरी नियन्त्रणमा रहेका ३० जना अभियुक्तको बयान सकिएकाले बुधबारबाट थुनछेकको बहस सुरु हुने जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।
बहसका लागि प्रतिवादीका तर्फबाट ४३ जना कानुन व्यवसायीहरुले वकालतनामा दर्ता गराएका छन् ।
सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ भने अझै फरार छन् । उनी भारतमा लुकेर बसेको हुनसक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्