२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


यसरी सजाइँदै छ जनकपुर (भिडियो)


0
Shares

२ नम्बर प्रदेशको अस्थायी राजधानीसमेत रहेको जनकपुरमा मोदीलाई भव्य अभिनन्दन गरिने र भ्रमण व्यवस्थित बनाउने काम करिब सकिन थालेको हो ।

यतिबेला जनकपुर क्षेत्र वरिपरिको वातावरण निकै रोमान्चक र भव्य बनेको छ । ‘नेपालकै फोहोर सहर’को उपमा पाएको जनकपुर नगरी भारतीय प्रधानमन्त्री मोदी भ्रमणकै नाममा सिंगारिँदै छ ।

मोदीको स्वागतका लागि २ नम्बर प्रदेश सरकार र स्थानीय रस्साकस्सीमा लागेका छन् ।

मिथिला संस्कृतिअनुसार पूजापाठका साथै नागरिक अभिनन्दनसम्मको तयारी अन्तिम चरणमा छ ।

नरेन्द्र मोदीको स्वागत र नागरिक अभिनन्दनका लागि वरपरको क्षेत्रमा सरसफाइ, रङरोगन र मन्च व्यवस्थापन स्थानीय र प्रदेश सरकारले गरिरहेका छन् । स्थानीयवासीमा पनि मोदीको भ्रमणको उत्साह, रौनक र चासो देखिन्छ ।

जनकपुरबाट सुरु हुने नेपाल भ्रमणलाई व्यवस्थित गराउन प्रदेश र स्थानीयका अतिरिक्त केन्द्र सरकारको पनि ध्यान गएको छ ।

यस भ्रमणले जनकपुरको प्रचार–प्रसारमात्र होइन, जनकपुर क्षेत्रको विकासका लागि कोसेढुंगा सावित हुने अपेक्षा स्थानीयको छ ।

धार्मिक र ऐतिहासिक नगर जनकपुर सिंगारेर चिरिच्याँट्ट पारिएको छ । विमानस्थलबाट जानकी मन्दिर र नागरिक अभिनन्दनस्थलसम्म पर्खालको रङरोगन, त्यसमाथि मिथिला संस्कृति झल्कने विभिन्न चित्रकलासमेत बनाइएका छन् । यो तयारी हेर्दा यस्तो लाग्छ, सरकारले चाहेमा विकास हुन धेरैबेर लाग्दोे रहेनछ !

२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पूरै ध्यान मोदीको भ्रमण भव्य बनाउनेमा छ । २९ घन्टा नेपालमा रहँदा मोदीले जनकपुरधाममा दुई घन्टा बिताउने कार्यतालिका छ ।

२८ गते बिहान साढे ९ बजे जनकपुरमा आइपुग्ने उनी जानकी मन्दिरमा पूजापाठ सकाएर रंगभूमि मैदानमा अभिनन्दन कार्यक्रममा सरिक हुनेछन् ।

नेपाल–भारत सम्बन्ध धार्मिकरुपमा पनि उत्तिकै महत्वको रहेकाले भ्रमणबाट यस क्षेत्रको विकासमा टेवा पुग्ने मुख्यमन्त्री राउत बताउँछन् ।

सरसफाइदेखि बाटोघाटो, रङरोगन र मन्च व्यवस्थापनमा मानिस अहारोत्र खटाइएको छ । मोदीको सुरक्षार्थ विशेष सुरक्षा टोली र ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

लाखौं जनतालाई अभिनन्दनमा आउन अपिल गरेको जनकपुरका मेयर लालकिशोर यादवले बताए ।

अभिनन्दनकाक्रममा मोदीलाई नगरपालिकाको साँचो बुझाउने र विशेष उपहार दिने योजना रहेको पूर्वसांसद डा. विजयकुमार सिंहले जानकारी दिए ।

जनता भने छिमेकी मुलुकका प्रधानमन्त्री आउँदामात्रै देखिने विकासको तँछाडमँछाड आउँदा दिनमा सदाबहार रहोस् भन्ने सुझाव दिन्छन् ।

अतिथि देवो भवःको संस्कार रहेको नेपाली र मिथिला संस्कृतिमा पाहुनालाई स्वागत–सत्कार गर्नु स्वाभाविकै हो ।

अझ नयाँदिल्लीकै प्रधानमन्त्रीलाई त्योपनि लामो अन्तराल र बदलिँदो राजनीतिक पृष्ठभूमिमा दैलोमै पाउँदा स्वागत र सम्मानमा कमी नहोस् भन्नेमा स्थानीयदेखि केन्द्रीय राजनीति चलायमान हुनु अस्वाभाविक पक्कै होइन ।

भिडियो हेर्नुहोस्