२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सैद्धान्तिक अन्योल र प्राथमिकता दिशाहीन छ : प्रमुख प्रतिपक्ष


0
Shares

बैठकमा पहिलो वक्ताकारुपमा भाग लिँदै उदया शर्मा पौडेलले संघीय निजामती ऐन ल्याउन राज्यलाई अप्ठ्यारो परेको भन्दै कर्मचारीलाई उत्साह र प्रेरणा दिन एक तह बढुवा गरेर स्थानीय तह र प्रदेशमा काममा खटाउन सुझाव दिइन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई लक्षित गरेर भारतीय सेना नेपाल भएको भन्ने विषयमा सरकारबाट जानकारी माग गरिन् ।

सांसद विन्दादेवी रानाले भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणका बेला सीमा क्षेत्रमा थिचोमिचो भएको विषयमा कुरा राख्न तथा प्रबुद्ध समूहले हालसम्म गरेको कार्यप्रगति सार्वजनिक गर्न माग गरिन् ।

उनले ‘प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला भएको भनिएको ‘वान टु वान’ वार्तामा के भएको थियो ? त्योबारे सदनलाई जानकारी गराइयोस्’–भनिन् ।

युटोल तामाङले आदिवासी जनजाति आयोगलाई प्रभावकारी तुल्याउन तथा दुर्गम क्षेत्रलाई सुगम तुल्याउने ढंगबाट कार्ययोजना अघि बढाउन सरकारको ध्यानाकर्षण गराइन् ।

तारादेवी भट्टले ‘कन्चनपुरको प्याराताललाई कब्जा गर्ने उद्देश्यले भारतीय सुरक्षाफौजले आँखा लगाएको तथा सीमावर्ती क्षेत्रमा भारतीय पक्षले नेपाली किसानको बालीनाली लुट्ने काम गरेकाले सरकारको ध्यान जाओस्’–भनिन् ।

सैद्धान्तिक अन्योल र प्राथमिकता दिशाहीन छ : प्रमुख प्रतिपक्ष
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त सरकारका नीति तथा कार्यक्रमकारुपमा आएको हुँदा सैद्धान्तिक अन्योल र प्राथमिकता दिशाहीन बन्न पुगेको टिप्पणी गरेको छ ।

राष्ट्रियसभामा बिहीबारदेखि सुरु भएको आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा भाग लिँदै नेपाली कांग्रेसका जितेन्द्रनारायण देवले सिद्धान्तका विषय गौण देखिएको, शब्द चयनमा गम्भीर नदेखिएको तथा बजेट समावेसी र प्रगतिशील हुनुपर्नेमा त्यो छाँटकाँट नदेखिएको उल्लेख गरे ।

‘सन्तुलित विकास, गरिबी घटाउने, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन, समाजवादी आर्थिक प्रणाली, सार्वजनिक र निजी क्षेत्रलाई विकासको साझेदार बनाउने, प्रगतिशील अर्थ प्रणालीको विकास, विप्रेषणलाई उत्पादनशीलसँग जोड्ने कुरा सकारात्मक छन्’–उनले भने ।

‘अधिकार हस्तान्तर गर्ने विषयमा प्राथमिकता र सिद्धान्तमा चुकेको छ, समावेशी सिद्धान्तअनुसार बजेट छैन, प्रगतिशील बजेट आउने देखिन्न, मुलुकको विकासका लागि द्रुत र विकासका लागि छिमेकीको सहयोग ल्याउने विषय छोएको छैन’–सांसद देवले भने ।

अर्का सांसद धना खतिवडाले मुलुकको द्रुत र वैज्ञानिक विकासका लागि ‘सेटलाइट सिटी’को अवधारणा ल्याउन आवश्यक रहेको बताइन् ।

‘बिना पोखरेलले हामी समाजवादी अर्थतन्त्रको जग हाल्दैछौं भन्छौं तर औद्योगिकीकरणमा पर्याप्त जोड दिएको देखिन्न’ भन्दै ‘कृषिलाई औद्योगिकीकरण गर्ने र खनिजपदार्थ विकासमा जोड दिने कुरा सिद्धान्त र प्राथमिकतामा छुटेका छन्’–भनिन् ।

रामचन्द्र राईले ‘मुलुकमा सुशासन कायम नभइ विकास र समृद्धि सम्भव छैन’ भन्दै ‘सुशासनलाई प्रवद्र्धन गर्न भ्रष्टाचारलाई कडाइका साथ अघि लैजाने कुरा स्पस्ट ढंगबाट आउनुपर्छ’–भने ।

प्रकाश पन्तले ‘मुलुकमा रोजगारी नभएर विदेशिएका युवालाई समेट्ने समृद्धि र सामाजिक सुरक्षा कार्यक्रम बजेटमा समावेश गर्न आवश्यक छ’–भने ।

रमेशप्रसाद यादवले ‘सडकको किनारमा वृक्षारोपण र चुरे संरक्षणलाई विशेष ध्यान दिएर बजेट विनियोजन गरियोस्’–भने ।

दिलकुमारी रावलले विप्रेषणलाई उत्पादनको क्षेत्रमा प्रयोग गर्ने र उत्पादन बढाउन कृषिको व्यावसायिक खेतीलाई प्रवद्र्धन गर्ने बजेट आउन आवश्यक रहेको बताइन् ।

कमला ओलीले ‘बजेटका सिद्धान्त र भावनालाई विश्लेषण गर्दा देशभक्तिबाट ओतप्रोत रहेको देखिन्छ’–भनिन् ।

खिमकुमार विश्वकर्माले आत्मनिर्भर अर्थतन्त्रको विकास, कृषिमा आधुनिकीकरण र व्यवसायीकरण, वैज्ञानिक भूस्वामित्व, भौगोलिक विविधतालाई ध्यानमा राखेर क्षमतालाई प्रवद्र्धन गर्ने ढंगबाट बजेट ल्याउन सुझाव दिए ।

विमला राईले ‘सरल, छोटो र स्पष्ट ढंगले बजेटको सिद्धान्त र प्राथमिकता आएको छ’ भन्दै नेपालीको चुलिएको आकांक्षा र स्वेतपत्रले देखाएको धरातलका आधारमा रहे पनि महिला र बालिबालिकाको विषय भने समेटिन नसकेको टिप्पणी गरिन् ।

राष्ट्रियसभाको अर्काे बैठक वैशाख ३० गते आइतबार दिनको ११ बजे बस्नेछ ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुनेक्रम भने जारी नै छ । रासस