
काठमाडौं, वैशाख ३० । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको प्राथमकिता के हो भन्ने नै स्पष्ट नभएको बताएका छन् ।
संसद बैठकमा आगामी बजेटको सिद्धान्त र प्राथमिकताबारे टिप्पणी गर्दै उनले अहिलेको सरकारको प्राथमिकता नै स्पष्ट नभएको बताएका हुन् ।
विधेयकमा पर्यटन, रेल, श्रम, स्वास्थ्य सेवा सबै प्राथमिकता हो भनिएको छ तर यसमध्येको प्राथमिकता के हो भनेर नखुलाइएको उनको टिप्पणी रह्यो ।
निजी क्षेत्रको सहभागितामा रोजगारी सृजना गर्ने भन्ने कुरा प्राथमिकतामा नरहेको भन्दै उनले श्वेतपत्रमा ढाँटेका विषय बजेट सिद्धान्तमा राखेर सुधार गर्न खोजिएको आरोपसमेत लगाए ।
श्वेतपत्रमार्फत धेरै कुरा जनतालाई ढाँटेको आरोप लगाउँदै उनले आफू नहुने हो भने खत्तमै हुन्छ भन्ने देखाउन अर्थमन्त्री डा. युवराज खतिवडा सस्तो प्रचारमा लागेको आरोपसमेत कार्कीले लगाए । अर्थमन्त्री खतिवडाले भनेजस्तो खराव अवस्थामा आफूले अर्थतन्त्र नछाडेको उनको भनाइ थियो ।
यस्तै पूर्वअर्थमन्त्री एवं एमाले नेता विष्णु पौडेलले ठूला आयोजनाहरुलाई अगाडि बढाउने र बन्ने सुनिश्चिततासहित बजेट तर्जुमा गर्न अर्थमन्त्री डा. खतिवडालाई सुझाव दिए ।
प्रत्यक्ष वैदेशिक लगानी आकर्षित नगरी विकास गर्न गाह्रो हुने भन्दै उनले त्यसरी ल्याइने लगानी राष्ट्रिय हित र आवश्यकताका आधारमा आउनु पर्नेमा जोड दिए ।
उनले अर्थतन्त्रमा थुप्रै चुनौती रहेको भन्दै समयमा परियोजना सम्पन्न नहुने र गुणस्तरीय पनि नहुने विषयको कारण खोजेर त्यसको निराकरण गर्न अर्थमन्त्रीलाई आग्रह गरे ।
काठमाडौं–तराई द्रुतमार्ग, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
माओवादी केन्द्रका नेता जनार्दन शर्माले बजेट कार्यान्वयनमा ढिलासुस्ती गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्