
उनले तस्करी, कालोबजारी र ‘सिन्डिकेट’को जालो भत्काउन सरकार लागिपरेको बताए ।
‘जसले राजश्व तिर्दैनन्, तिनै तस्करको हातमा मुलुकको अर्थतन्त्र छ’–उनले भने ।
सोमबार प्रेस सेन्टर कास्कीद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले मुलुकको विकास र समृद्धिका लागि सुशासन, शान्ति र स्थायित्व आवश्यक रहेको हुँदा सरकार यस दिशामा लागिपरेको उल्लेख गरे ।
उनले लागुऔषधको कारोबार नियन्त्रण गर्ने सरकारको योजना रहेको सुनाए ।
देशलाई अब जतिसक्दो समृद्ध र विकासतर्फ लैजानुपर्छ भन्दै गृहमन्त्री थापाले विकास र समृद्धिलाई लक्षित गरेर नै छिमेकी राष्ट्रसँग सम्बन्ध सुमधुर बनाउने प्रक्रियामा सरकार रहेको बताए ।
अब छिट्टै नेपालका प्रधानमन्त्री चीनको भ्रमणमा जाने जानकारी दिँदै उनले यस कार्यले छिमेकी राष्ट्रबीच आपसी सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
एक फरक प्रसंगमा गृहमन्त्री थापाले मुलुकमा जाति, धर्म, क्षेत्रको नाममा अस्थिरता ल्याउने खोज्ने तत्वलाई नियन्त्रण र निस्तेज गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले स्थानीय, प्रादेशिक र केन्द्रीय तहको सुरक्षाका लागि समन्वयकारी कार्यकारी आदेश जारी गरिसकेको जानकारी दिँदै छिट्टै प्रहरी ऐन तयार गर्न लागेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्