
पशुपति आर्यघाटमा लामिछानेको पार्थिव शरीरमा पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको झन्डा ओढाए भने अर्का पूर्वप्रधानमन्त्री एवं नेता माधवकुमार नेपालले राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जलि अर्पण गरे ।
रक्षामन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले पार्टी सचिव योगेश भट्टराई, भीम आचार्य, पोलिटब्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डेलगायत नेताले पनि पशुपति पुगेर लामिछानेप्रति श्रद्धाञ्जलि अर्पण गरे ।
त्यसैगरी, प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेल, उपसभामुख राधिका तामाङ, प्रदेशमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेश नम्बर–१ का मन्त्री हिक्मत कार्की, नेकपा माओवादी केन्द्र सचिवालय सदस्य दिलीप प्रजापति, राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहलगायतले लामिछानेप्रति श्रद्धाञ्जलि अर्पण गरे ।
लामिछानेको पार्थिव शरीरमा उनका छोरा कृष्णशरणले दागबत्ती दिए । लामिछानेप्रति नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
गत मंसिर २१ गतेको प्रदेशसभा निर्वाचनमा भक्तपुरबाट एमालेका तर्फबाट निर्वाचित लामिछानेको प्रदेशसभा सदस्यको यात्रा पाँच महिनामै टुंगिएको छ ।
एक साता लामो रारा भ्रमण सकेर शनिबार साँझ घर आइपुगेका उनलाई आइतबार टाउको दुखेपछि काठमाडौं मेडिकल कलेज सिनामंगल ल्याइएकामा चिकित्सकले मस्तिष्कघात भएको जानकारी गराएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दैगर्दा उनको सोमबार अपराह्न निधन भएको हो ।
वि.सं. २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा पिता हरिप्रसाद र आमा देवमायाका कोखबाट जन्मिएका उनले २०३९ सालमा तत्कालीन नेकपा मालेको भ्रातृसंगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।
वि.सं. २०४६ को आन्दोलनकाक्रममा घाइते भएका उनी प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा १३ पटक गिरफ्तार भएका थिए ।
राजनीतिमा एक आदर्श व्यक्तिकारुपमा परिचित उनलाई भक्तपुरमा एमालेलेमात्रै नभइ अन्य पार्टीका नेता तथा कार्यकर्ताले पनि एक आदर्श व्यक्तिकारुपमा मान्दै आदरका साथ ‘हरि गुरु’ भनेरै सम्बोधन गर्थे । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्