
चितवन, जेठ १ । चितवनमा एकै महिनामा २८ दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएको छ ।
२०७५ वैशाख महिनामा जिल्लामा भएका साना तथा ठूला २८ वटा दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला ट्राफिक कार्यालय चितवनले दिएको जानकारी अनुुसार ती दुर्घटनामा ७४ जना घाईते भएका छन् ।
यो गत वर्षको वैशाखमा भन्दा मृत्यु हुनेको संख्यामा कमी आएको छ भने दुर्घटना संख्या बढेको देखिन्छ ।
गत वर्ष २०७४ को वैशाख महिनामा २३ वटा मात्रै दुर्घटना भएका थिए भने सो दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका थिए ।
यस्तै दुर्घटनामा ४८ जना मात्रै घाईते भएका थिए । चालु आर्थिक वर्ष २०७४÷७५ को वैशाख सम्ममा २ सय २३ सवारी दुर्घटनामा परेका छन् । ती दुर्घटनामा परी १०६ जनाको मृत्यु भएको छ भने ४४५ जना घाईते भएका छन् ।
यस्तै ट्राफिक प्रहरीले वैशाख महिनामा मापसेका ७८ र ४ हजार ५ सय ५० वटा अन्य सवारीलाई कारवाही गर्दै ३२ लाख ८७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
गत वर्षको वैशाखमा भने मापसेका ९० र अन्य ३ हजार ५ सय सवारीलाई कारवाही गर्दै २४ लाख ८६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो ।
ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०७४÷७५ को वैशाख सम्ममा मापसे र अन्य सवारीलाई कारवाही गर्दै दुई करोड ५७ लाख ३८ हजार रुपैयाँ राजश्व संकलन गरि सकेको छ ।
प्रतिक्रिया दिनुहोस्