
काठमाडौं, जेठ ६ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी यतिबेला नेता व्यवस्थापन तथा संगठन एकीकरणमा जुटेको छ ।
पार्टीको सचिवालयले पूर्णता पाइसकेको छ भने स्थायी कमिटी र केन्द्रीय कमिटी तत्कालै पूर्णता पाउने प्रक्रियामा छन् । तर बाँकी तल्लो तहसम्मकै कमिटीहरु अबको तीन महिनाभित्र एकिकरण गरिसक्ने तयारी छ ।
तत्कालिन एमालेबाट २४१ जना र माओवादी केन्द्रबाट २०० केन्द्रीय सदस्य मिलाएर नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी ४४१ सदस्यीय बनाइएको छ । यस्तै, नौ सदस्यीय पार्टीको केन्द्रीय सचिवालय तथा हाइकमाण्ड बनाइएको छ ।
तत्कालिन एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ जना गरी ४५ सदस्यीय स्थायी कमिटी बनाइएको छ । पार्टीको पोलिट्ब्युरो गठन गर्न बाँकी छ ।
नेपाल कम्युनिष्ट पार्टीले तीन महिनाभित्र केन्द्रीय कमिटी मातहतका सबै तल्लो कमिटी, केन्द्रीय विभाग र केन्द्रीय आयोगहरु एकीकरण गर्ने गरी विधि, प्रक्रिया र मापदण्ड निर्माणको गृहकार्य शुरु भएको छ ।
पार्टीको स्थायी समिति, पोलिट्ब्युरो र केन्द्रीय कमिटीसहित प्रारम्भिक कमिटी गरी १० तहगत सांगठनिक संरचना बन्नेछन् । महासचिवको जिम्मेवारी पाएका विष्णु पौडेललाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको निर्देशन र परामर्शमा सांगठनिक एकता गर्ने जिम्मेवारी दिइएको छ ।
तीन महिनाभित्रै तल्लो तहसम्मका १० वटै संरचनाको एकता गरिसक्ने तयारी भए पनि पूर्व दुई पार्टीमा आकांक्षी धेरै भएकाले सांगठनिक व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले पार्टी एकताका लागि गठन गरिएको सांगठनिक कार्यदलले पेश गरेको प्रतिवेदनका आधारमा नै सबै कमिटीलाई एकीकरण गरिने बताए ।
यस्तै, एकता हुनुभन्दा अघिका दुवै दलका भ्रातृ संगठनको एकीकरण पनि ३ महिनाभित्रै गर्ने गरी गृहकार्य सुरु भइसकेको छ । तर, भ्रातृ संगठन एकताका लागि विधि, प्रक्रिया र मापदण्डबारे सचिवालयमा छलफल हुन बाँकी छ । यसका लागि तत्कालीन एमाले नेता गोकर्ण विष्ट र तत्कालीन माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको छ ।
भ्रातृ संगठनमध्ये अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, युवासंघ, वाईसिएल, अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ क्रान्तिकारीलगायतका संगठन एकीकरण गर्दा आकांक्षीको व्यवस्थापन पेचिलो बन्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्