२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


पहुँचका भरमा नियमविपरित भिआइपीका घरमा खटाइएका सुरक्षाकर्मी फिर्ता (भिडियो)


0
Shares

काठमाडौं, जेठ ९ । पहुँचका भरमा नियमविपरित व्यक्तिको घरमा काममा खटाइएका सबै सुरक्षाकर्मी फिर्ता भएका गृह मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनबमोजिम मन्त्रालयले पूर्वसरकारी अधिकारीहरुले राखेका सुरक्षाकर्मी फिर्ता गरेको हो ।

राजनीतिक पहुँच र प्रभावका भरमा सरकारी पूर्व पदाधिकारी तथा उच्च प्रहरी अधिकारीहरुले घरायसी काममा लगाइरहेका सबै सुरक्षाकर्मी फिर्ता भएका छन् ।

प्रधानमन्त्री ओलीको निर्देशनपछि गृह मन्त्रालयले अवैधानिक रुपमा काममा लगाइएका सबै सुरक्षाकर्मी फिर्ता गरिएको जनाएको छ ।

सुरक्षा खतराको बहानामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट पूर्वसरकारी अधिकारीहरुले सुरक्षा गार्ड राख्ने बहानामा घरमा लगेर घरेलु कामदारको रुपमा प्रयोग गर्ने गरेका थिए ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सुरक्षाकर्मी लगेर घरेलु कामदारको रुपमा प्रयोग गरिएका नेपाल प्रहरीका ३ सय १५ जना र सशस्त्र प्रहरी बलका करिब ५ सय जना सुरक्षाकर्मी फिर्ता भएको बताए ।

त्यसैगरी कुनै पनि निकायले निर्णय नगरी घरायसी काममा प्रयोग भइरहेका ४९ जना पनि फिर्ता भएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

पहुँचका भरमा सुरक्षाकर्मीलाई सुरक्षा गार्ड राख्ने बहानामा घरमा लगेर घरेलु कामदारको रुपमा राख्न्ने गरेको गुनासो आएपछि सरकारले त्यस्ता सुरक्षाकर्मी फिर्ता गरेको हो ।

गृह प्रवक्ता सुवेदीका अनुसार, आगामी दिनदेखि सुरक्षाकर्मी लगेर घरेलु कामदारको रुपमा प्रयोग गरिएको पाइएमा लाने ब्यक्ति र काम गर्ने दुबैलाई कारवाही गर्ने गरी कानुनी व्यवस्था गर्न लागिएको छ ।

लामो समयदेखि सुरक्षाकर्मीलाई व्यक्तिगत प्रयोजनका काममा लगाइँदा आलोचनासमेत हुँदै आएको थियो ।

पछिल्लो पटक यसमा ठोस पहल भएपछि तल्लो तहका सुरक्षाकर्मीहरुमा खुसीयाली छाएको छ ।

भिडियो