सिवी अधिकारी/भोजराज कार्की (रासस)
सोलुखुम्बु, कात्तिक २५ । सर्वोच्च अदालतको आदेशपछि सोलुखुम्बु, दुभिङका आरोही लाक्पा गेलु शेर्पा सबैभन्दा छोटो समयमा आरोहण गर्ने ‘तीव्र आरोही’ बन्न सफल भएका छन् ।
उनी सन् २००३ मे २५ का दिन १० घन्टा ५६ मिनेट ४६ सेकेन्डमा सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान राख्न सफल भएका थिए ।
लाक्पापछि सन् २००४ मे २१ मा दोलखाका पेम्बा दोर्जी शेर्पाले ८ घन्टा १० मिनेटमा सगरमाथा आरोहण गरेको र आफू ‘तीव्र आरोही’ भएको जिकिर गरेकाले विभागले उनलाई ‘तीव्र आरोही’को प्रमाणपत्र प्रदान गरेको थियो ।
प्रमाणपत्र पाएपछि पेम्बाले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नामसमेत दर्ता गराएका थिए ।
पेम्बाले झुटोे प्रमाण पेस गरी विश्व कीर्तिमान कायम गरेको आरोप लगाउँदै लाक्पासहितको आरोही समूहले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
विभागका कर्मचारीसमेतलाई विपक्षी बनाइ दायर उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०७४ मंसिर १२ गते पेम्बाको प्रमाणपत्र खारेज गर्न आदेश दिएको थियो ।
आरोहणपछि पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३० सँग सम्बन्धित अनुसूची–११ बमोजिम सम्पर्क अधिकृतले पेस गर्ने प्रतिवेदनमा सोही अनुसूचीको खन्ड २३ अनुसार पर्वतारोहीले यात्रा गरेको महत्वपूर्ण ठाउँको तस्वीर तथा पर्वतारोही दलका सदस्यसमेत उपस्थित भएको सगरमाथा आधारशिविरको तस्वीरसहितको प्रतिवेदन बुझाउनुपर्छ ।
पेम्बाको आरोहणमा पर्वतारोहणसम्बन्धी नियमावलीसँग मेल नखाएको भन्दै कीर्तिमान झुटो ठहर गरी अदालतले उनको कीर्तिमान खारेज गरेको थियो ।
अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले ६ महिनाअघि पेम्बाको आरोहणको कुनै आधार नभएको भन्दै उक्त कीर्तिमान खारेज भएको आदेश जारी गरेको थियो ।
सो आदेशपछि पर्यटन विभागले १४ वर्षअघि बिनाआधार पेम्बालाई सगरमाथाको ‘तीव्र आरोही’ भएको भनी थमाएको प्रमाणपत्र गलत भएको स्वीकार गर्दै गत असोज १७ गते प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको थियो ।
बिनाआधार दिइएको प्रमाणपत्र विभागले रद्द गर्दै ‘तीव्र आरोही’ लाक्पा गेलु नै भएको पुनः प्रमाणित गरेको छ ।
विभागको चलानी १९३९ को मिति २०७५ कात्तिक १५ को पत्रमार्फत् लाक्पा नै पुनः ‘स्पीङ आरोही’ भएको भनी जानकारीसहितको पत्र पठाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मिति २०७५ असोज १७ को निर्णयले पेम्बाको विश्व कीर्तिमान खारेज गर्देै लाक्पा गेलुकै कीर्तिमानलाई सदर गरेको जानकारीपत्र भने करिब एक महिना ढिला गरी चलानी गरिएको थियो ।
विभागका निर्देशक मीरा आचार्यले अदालतले आरोही लाक्पाको पक्षमा पूर्ववत् निर्णय कार्यान्वयन गराउनू भन्ने आदेशबमोजिम सचिवस्तरीय निर्णय भइ आएकाले सोही आधारमा जानकारी गराइएको बताइन् ।
छिटो आरोहण गरेको जिकिर गरेका पेम्बाका सम्बन्धमा सर्वोच्चको आदेशबारे थप अध्ययन गरी विभागको धारणा सार्वजनिक हुने उनले जानकारी दिइन् ।
झुटो विवरण पेस गरी विश्व कीर्तिमान कायम गर्ने आरोही अत्यधिक रहेको आरोही दलको जिकिर छ ।
सगरमाथा आरोही कितबसिं तामाङले झुटो विवरण पेस गर्ने आरोही धेरै भएपनि नियमनकारी निकायको दरिलो उपस्थिति नहुँदा समस्या समाधान हुन नसकेको बताए ।
यसअघि, सन् २०१६ मे २३ मा भारतीय प्रहरी सेवामा कार्यरत् दिनेश राठोर र उनकी श्रीमती तारकेश्वरीले नक्कली तस्वीर देखाएर सगरमाथा आरोहण गरेको जिकिर गर्दै पर्यटन विभागबाट प्रमाणपत्र लिएका थिए ।









प्रतिक्रिया दिनुहोस्