बैतडी, कात्तिक २५ । दशैं–तिहारजस्ता मुख्य चाडपर्व सकिएलगत्तै बैतडीका किसान गहुँ छर्ने चटारोमा छन् ।
कात्तिक पहिलो सातादेखि मंसिर तेस्रो सातासम्म यहाँका किसानले गहुँ छर्ने गर्दछन् ।
कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले खेतबारी राम्रोसँग खनजोत गरेरमात्र गहुँ छर्न सुझाव दिएका छन् । बैतडीमा २१ हजार ९ सय हेक्टर जमीनमा गहुँ खेती हुँदै आएकोमा पछिल्लो समयमा गहुँ खेती गर्ने किसानको संख्या कम हुँदै गएको छ ।
सिँचाइ सुविधा अभाव, जंगली जनावरको प्रकोपलगायतका समस्याका कारण किसानले गहुँखेती लगाउन छाडेका हुन् । जिल्लामा १० हजार हेक्टर जमीनमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ । सिँचाइ नभएका ठाउँमा आकासे पानीका भरमा गहुँखेती गरिँदै आएको छ ।
गहुँको उत्पादन वृद्धि गर्ने लक्ष्यसहित कृषि ज्ञान केन्द्र बैतडीले दार्चुला र बैतडीका विभिन्न ठाउँका किसानलाई निःशुल्क रुपमा उन्नत जातको गहुँको मूल बीउ वितरण गरेको छ । बीजवृद्धि कार्यक्रमअन्तर्गत ३५ क्विन्टल उन्नत जातको गहुँको बीउ वितरण गरिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख चन्दले जानकारी दिए ।
गहुँको पकेट क्षेत्रका किसानलाई लक्षित गरी गहुँको बीउ वितरण गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्