Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


बझाङका फलाम खानी अलपत्र, सडक निर्माण गर्दासमेत फलाम निस्किन थाल्यो


0
Shares

बझाङ, जेठ १३ । बझाङका विभिन्न क्षेत्रमा रहेका फलाम खानी राज्यको बेवास्ताका कारण उत्खनन् हुन सकेको छैन ।

जिल्लाको साविक दहबगर गाविस (हालको बुङगल नगरपालिका वडा नं २) मा रहेका फलाम खानी उत्खननमा कसैले चासो नदेखाएका कारण ओझेलमा परेको छ । यस्तै तल्कोट गाउ“पालिकाको भोपुर रुवातोला सडकको बयालधार खण्डमा समेत फलाम खानी फेला परेको छ । सडक निर्माणको क्रममा डोजरले खन्दा ठुलो परिमाणमा फलामका टुक्राहरु यत्रतत्र छरिएको अवस्थामा खानी फेला परेको हो ।

सडक खन्ने क्रममा निस्किएका फलामे ढुङ्गाहरु ठुलो मात्रामा सेती नदीमा समेत खसेको स्थानीयले बताएका छन् ।

चैनपुर ताक्लाकोट सडकमा पर्ने साविक सुनिकोट गाविसको सेरागाउ“देखि धमेना गाविसको कुँवर गाउ“सम्मको करिब ३ किलोमिटर क्षेत्रमा ठाउँ–ठाउँमा फलामजस्तै ढुङ्गा भेटिएका हुन् । जताततै फलामै फलाम भेटिए पनि यसको बारेमा कसैले वास्ता नगरेका कारण सडक निर्माणको क्रममा ठुलो मात्रामा यस्ता ढुंगा सेती नदीमा खसेको स्थानीय धनबहादुर कठायतले बताए ।

सुदुरपश्चिमका विभिन्न जिल्लामा खानी उत्खनन् अध्ययनको टोली पुग्ने गरेको भए पनि बझाङमा कसैको ध्यान जान सकेको छैन । केही वर्षअघि बैतडीसम्म भूगर्भ विभागको टोली सम्भावित अध्ययनका लागि आए पनि बझाङलाई बेवास्ता गरेको स्थानीय प्रशान्त कठायतले बताए ।

दहबगरको खानीबगर र दहको पहाडमा रहेको फलाम खानीमा प्रशस्त फलाम पाईने भए पनि उत्खनन् हुन सकेको छैन । खानी उत्खननका लागि राज्यले देशभरका विभिन्न जिल्लाहरुमा अध्ययन टोली पठाई अध्ययन गरिरहेको भए पनि बझाङमा त्यस्तो टोली नआएको स्थानीयको भनाइ छ ।

२०३६ सालसम्म बुंगल नगरपालिकाका स्थानीयले पहाडबाट धाउ निकालेर फलामका विभिन्न भाडाकुडा तथा कृषि औजार बनाउने गरेका थिए । सोही ठाउँमा उत्खनन् गरेर ल्याएका फलाम प्रशोधन गरि बनाईएका भाडाकुडा तथा औजार हाल पनि गाउँघरमा देख्न सकिन्छ । ‘उत्खनन गर्न कठिनाई थियो, तैपनि हामी जेनतेन गरेर फलाम निकाल्थ्यौँ,’ खानीबगरका देब्बो धामीले भने, ‘पछि पहाडमा पहिरो जाँदा फलाम खानी पुरियो, त्यो बेलादेखि कसैले फलाम निकाल्ने काम गरेको छैन ।’

२०३८ सालको भूकम्पले पहिरो जाँदा दुवै खानी पुरेपछि फलाम उत्खनन् गर्ने काम रोकिएको हो ।

सानैदेखि आफ्नो बुवासँग आरनको काम गर्दै आएका स्थानीय जंगे बिक पनि आफ्ना मालिकहरुले धाउ दिने गरेको र आफुले बुवासँग सामान बनाउन सहयोग गरेको अनुभव सुनाउँछन् । उनी भन्छन्, ‘द्वन्द्वकालमा तत्कालिन विद्रोही संगठन नेकपा माओवादीका सेनाहरुले पनि उक्त खानीबाट फलाम निकालेर हातहतियार बनाउन प्रयोग गरेका थिए ।’ माओवादीले खुकुरी र भरुवा बन्दुकको गोली सोही फलाम खानीबाट निस्केको फलामले बनाएको उनको भनाइ छ ।

बझाङ जिल्लाका फलाम खानीलाई संचालनमा ल्याउन सके जिल्लाको विकासमा ठुलो टेवा पुग्नुका साथै सुदुरपश्चिमको विकासमा समेत योगदान पुग्ने जानकारहरु बताउँछन् ।