Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


लक्ष्मीपूजाको दिन एक हजार १०५ मेगावाट विद्युत् प्रयोग


0
Shares

रमेश लम्साल (रासस)

काठमाडौं, कात्तिक २४ । यस वर्षको लक्ष्मीपूजाको दिन देशभर घरायसी ग्राहकले कुल एक हजार १०५ मेगावाट विद्युत् प्रयोग गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन कुनैपनि घर अँध्यारो बस्न नपरोस् भन्ने मान्यताका साथ सम्पूर्ण व्यवस्था मिलाएको र अधिकतम् माग सोही परिमाणमा भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यही कात्तिक २१ गते बुधबार लक्ष्मीपूजाको दिन साँझ ६ बजे गरिएको मापनमा घरायसी ग्राहकले गत वर्षभन्दा कम विद्युत् प्रयोग गरेको जानकारी दिए ।

गत वर्षको लक्ष्मीपूजाको दिनमा एक हजार १६५ मेगावाट विद्युत् घरायसी ग्राहकले प्रयोग गरेका थिए । यस वर्ष गत वर्षभन्दा ६० मेगावाट विद्युत् कम प्रयोग भएको हो ।

नियमित विद्युत् आपूर्ति, प्रणालीमा सुधार तथा अन्य व्यवस्थापकीयरुपमा गरिएको सुधारका कारण माग उल्लेख्यरुपमा खपत नबढेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले यस वर्ष कुल एक हजार २७० मेगावाटसम्म विद्युत् माग हुनसक्ने प्रक्षेपण गरेको थियो ।

प्राधिकरणले एक हजार ५०० मेगावाटसम्म विद्युत् माग भएपनि आपूर्ति गर्नसकिने गरी व्यवस्थापन गरेको थियो । तर, त्यसमा औद्योगिक ग्राहकको हिसाब भने जोडिएको छैन ।

तिहारको समयमा उद्योग तथा प्रतिष्ठान नचलेका कारण पनि ती निकायको गणना गरिएको छैन । प्राधिकरणका देशभर ३५ लाखको हाराहारीमा घरेलु ग्राहक रहेका छन् ।

प्राधिकरणले विद्युत् प्रणाली पुगेका कुनैपनि घर तथा बस्ती अँध्यारो नहोस् भन्ने ध्येयका साथ प्रत्येक वितरण केन्द्र र ग्रीड विभागमा २४सै घन्टा खटिनेगरी कर्मचारी परिचालन गरेको थियो । प्रत्येक वितरण केन्द्र मातहत २५ जनाका दरले विशेष टोली बनाएर परिचालन गरेको हो ।

वि.सं. २०७३ को लक्ष्मीपूजाको दिनदेखि काठमाडौंमा विद्युत्भार कटौतीको अन्त्य गरेको प्राधिकरणले हरेक वर्ष सफलता हासिल गर्दै गएको छ ।

कार्यकारी निर्देशक घिसिङकाअनुसार प्राधिकरणको ४३९ मेगावाट, निजी क्षेत्रको ३४१ मेगावाट उत्पादन र भारतबाट ३२५ मेगावाट विद्युत् आयात गरिएको र त्यसको सकुशल व्यवस्थापन भएको छ ।

उपभोक्ताले सचेतरुपमा नै कम विद्युत् खपत गर्ने उपकरणको प्रयोग तथा विद्युत् प्रयोगमा मितव्ययिता अपनाएका कारण पनि माग कम भएको हो ।

प्रत्येक वर्ष १० प्रतिशतका दरले घरेलु ग्राहकको संख्या बढे पनि विद्युत् चोरी नियन्त्रणमा गरेको सार्थक प्रयासले पनि सफलता हात लागेको हो ।

यस्तै, उपभोक्ताको चेतनास्तरमा भएको वृद्धिले पनि आफूहरुलाई विद्युत् व्यवस्थापन गर्न सहज भएको प्राधिकरणको भनाइ छ ।

यसैबीच, पर्वतको मोदी गाउँपालिकाको भोकलाङमा भने स्थानीयवासीले रुख काट्दा प्रसारण प्रणालीमा अवरोध भएका कारण सो स्थानमा विद्युत् आपूर्ति हुन सकेको थिएन ।

स्थानीयवासीले असावधानीका कारण रुख काट्दा विद्युत्को तार चुँडिएका कारण सो स्थानमा समस्या देखिएको भएपनि अन्यत्र कुनैपनि समस्या नआएको प्राधिकरणको भनाइ छ ।

काठमाडौंको गौरीघाट क्षेत्रमा बाँदर झुन्डिएर प्रसारणलाइनमा केहीबेर समस्या पारेको थियो । सो क्षेत्रको ११ केभीको लाइनमा समस्या आएको थाहा पाउनेबित्तिकै प्राधिकरणको टोलीले मर्मत गरेको थियो ।

करिब २४ मिनेटमा सो क्षेत्रको विद्युत्समेत नियमित भएको प्राधिकरणको भनाइ छ ।

देशभर कुनैपनि स्थानमा विद्युत् अवरोध नभएको र नियमितरुपमा सहजतवरले विद्युत् उपलब्ध गराउन सकिएको प्राधिकरणको भनाइ छ ।

बत्ती, रङ र फूलको पर्वलाई आफूहरुले मिहिनेतका साथ सफल बनाएको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले आगामी दिनमासमेत यस्तै साथ र सहयोग उपभोक्ताबाट प्राप्त हुने विश्वास व्यक्त गरे ।