२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


बगरमा तरबुजा उत्पादन गरी मनग्य आम्दानी


0
Shares

कपिलवस्तु, जेठ १४ । गर्मीका लागि उपयुक्त मानिने तथा बगरमा फल्ने चिसो फलका रुपमा रहेको तरबुजा उत्पादन गरीे कपिलवस्तुको बुद्धभुमि नगरपालिका– ९ धनकौली गाउँका कृषकले मनग्य आम्दानी गरेका छन् ।

धनकौलीको मोतिनगर लगायतका गाउँका सयभन्दा बढी कृषकहरुले बाणगंगा नदीको निख्खर जमिनमा तरबुजा उपादन गरी राम्रो आम्दानी गरेका छन । उनीहरुले बाणगंंगा नदीले बनाएको बगरमा हरियो तरबुजा र खरबुजा उत्पादन गरेका हुन् ।

नदीको निख्खर र सुख्खा बगरमा समेत नमूनाका रुपमा उनीहरुले तरबुजा र खरबुजा उत्पादन गरी लाखौंसम्मको आम्दानी गर्दै आएका हुन् ।

गर्मी याममा हुने उक्त मौसमी फल शीतलताका लागि खाने गरिन्छ ।

जिल्लाको धनकौलीस्थित रामघाट नदीको बगरमा उत्पादित तरबुजा जिल्लाका विभिन्न स्थानमा लाग्ने स्थानीय हाट बजारमा बिक्रीका लागि लैजाने गरिएको छ ।

जिल्लाका स्थानीय बजारसँगै छिमेकी जिल्ला अर्घाखाँची, रुपन्देही, दाङका बजारमासमेत चैतदेखि असारसम्म यसको व्यापार हुने गरेको छ ।

धनकौलीस्थित शिवशंकर आइपिएम कृषक समूहका अध्यक्ष परशुराम केवटले ६० बिगाहामा सामुहिक तथा ब्यक्तिगत गरि २७ जनाले तरबुजाको खेती गरेको बताए ।

जिल्ला कृषि विकास कार्यालय कपिलबस्तुले तरकारी तथा फलफुल बालीका लागि सिंचाइ तथा बीउबिजन समेतको ब्यवस्था गरेको कृषक केवटले बताए ।

तरबुजा बेचेरै कपिलबस्तुमा ठेला ब्यापारीहरुले राम्रो आम्दानी गर्ने गरेका छन् । गर्मी बढेपछि तरबुजाको माग बढेसँगै उनीहरुको ब्यापारसमेत बृद्धि भएको छ ।

जिल्लाका तौलिहवा, कृष्णनगर चन्द्रौटा, चार नम्बर लगायतका बजारमा ठेला ब्यापारीले तरबुजा बेचेर मनग्य आम्दानी गर्ने गरेका छन् । कपिलवस्तु नगरपालिकाको तौलिहवा बजारमा मात्र एक दर्जनभन्दा बढी ठेला ब्यापारीहरुलाई तरबुजा र खरबुजा बेच्न भ्याइ नभ्याइ हुन्छ ।

प्रशासन चौक, नयाटोल, गौढीचोक, हाटबजार लाईन शिवालय टोल लगायतका स्थानमा ठेला ब्यापारीहरुले गर्मी मौसम सुरु भएसँगै तरबुजा बिक्री गर्दै आएका छन् । तरबुजा बिक्रीका लागि पनि कुनै समस्या नभएको ठेला ब्यापारीहरुको भनाइ छ ।

जिल्लामा ५ हेक्टरमा तरबुजा खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालय अनुसार यस बर्ष १३ सय मेट्रिक टन तरबुजा उत्पादन भएको छ भने यहाँ ‘माधुरी ६४’ र ‘मधुवाला’ जातका तरबुजा उत्पदान हुने गरेको सो कार्यालयले जनाएको छ ।