
चितवन, जेठ १५ । चितवनलाई पोल्ट्रीको राजधानीका रुपमा चिनिन्छ । चितवनमा उत्पादित कुखुराकै कारण मुलुक मासुमा आत्मनिर्भरतातर्फ अघि बढ्दै गएको छ ।
तर बेलाबेलामा फैलिने रोगका कारण चितवनका पोल्ट्र व्यवसायी मारमा पर्ने गरेका छन् । पछिल्लो समयमा चितवनमा पोल्ट्री व्यवसायी पुनः वर्डफ्लुको मारमा परेका छन् ।
यही जेठ ३ गते चितवनको पूर्वी क्षेत्रमा पालिएका कुखुरामा एच फाईभ एन वान (एभिएन इन्फ्लूएन्जा) नामक जीवाणुको संक्रमण भेटिएपछि किसान त्रसित बनेका छन् ।
खैरहनी नरगपालिका–९ सुर्तनीका किसान राजन चौधरीले फार्ममा पालेका कुखुरा मरेपछि राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।
काठमाडौंबाट आएको टोली र जिल्ला पशु सेवा कार्यालयको टोलीले ती क्षेत्रका पंक्षीलाई सुरक्षित रुपमा नष्ट गरेको छ ।
लगत्तै भरतपुरको देवनगर र नारायणगढको एक मासु पसलमा रहेको कुखुरामा बर्डफ्लु संक्रमण रहेको पुष्टि भएको थियो ।
संक्रमण थप फैलन नदिन ती सबै क्षेत्रमा पालिएका कुखुरालगायतका पंक्षी नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय चितवनले जनाएको छ ।
बर्डफ्लु संक्रमण भेटिएपछि संक्रमित क्षेत्रका कुखुरा नष्ट नगर्न सरकारी टोलीलाई निकै हम्मेहम्मे पर्यो ।
स्थानीय किसानले संक्रमित क्षेत्र भन्दा धेरै पर रहेका कुखुरा पनि नष्ट गरेको भन्दै आक्रोस व्यक्त गरेका थिए ।
तर कुखुरामा लाग्ने विभिन्न रोगका कारण किसान चिन्तित हुँदै आएका छन् । कुखुराको घनत्व बढ्नु र जैविक सुरक्षा न्यून हुनुले पनि बर्डफ्लुको संक्रमण देखा पर्ने गरेको चिकित्सकहरुको भनाइ छ ।
अवैधानिक रुपमा ल्याइएका चल्लामार्फत् बल्र्डफ्लु भित्रिएको हुनसक्ने आशंका व्यवसायीहरुको छ ।
नेपालमा कुखुराजन्य क्षेत्रमा ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी छ । जसमध्ये आधाभन्दा बढी लगानी चितवनमै छ ।
प्रतिक्रिया दिनुहोस्