
सोमबार भएका खेलमा सशस्त्रले प्रदेश नम्बर–२ लाई र प्रदेश नम्बर–५ ले प्रदेश नम्बर–३ लाई पराजित गर्दै अन्तिम चारमा ठाउँ बनाएका हुन् ।
सशस्त्रले प्रदेश–२ लाई ९६ रनले हरायो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको सशस्त्रले ६ विकेटको क्षतिमा ३३९ रन बनाएको थियो ।
दोस्रो विकेटका लागि कीर्तिमानी २३१ रनको साझेदारी गर्नेक्रममा प्रदीपसिंह ऐरीले १५८ तथा सुवास खकुरेलले १०३ रन बनाए । दिभ्यांशु मल्लिकले ५ विकेट लिए ।
जवाफमा वर्षाले प्रभावित खेलमा २८ ओभरमा २०२ रनको नयाँ चुनौती पाएको प्रदेश–२ ले ९ विकेटको क्षतिमा १०५ रनमात्र बनाउन सक्यो ।
हरिशंकर शाहले ३८ तथा सुरज पटेलले ३४ रन बनाएबाहेक अरु कुनैपनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । बसन्त रेग्मी र करण केसीले समान ३/३ विकेट लिए ।
सोमबारै मूलपानी मैदानमा भएको खेलमा प्रदेश–५ ले प्रदेश–३ लाई ‘डकवर्थ लेविस’ नियमअनुसार ३० रनले हरायो ।
पहिले ब्याटिङ गरेको प्रदेश–३ ले ४४ ओभर ५ बलमा अलआउट हुँदै १५२ रन बनाएको थियो ।
भूपेन्द्र थापाले सर्वाधिक ४६ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा लाल अधिकारीले ३३ रन खर्चेर ४ विकेट लिए ।
जवाफमा प्रदेश–५ ले २० ओभर ५ बलमा ८९ रन बनाउँदा वर्षाले खेल रोकिएपछि डकवर्थ लेविस नियमअनुसार ३० रनले विजयी भएको हो ।
यी खेलपछि समूह ‘ए’बाट त्रिभुवन आर्मी र सशस्त्रले शतप्रतिशत नतिजासहित तथा समूह ‘बी’बाट प्रदेश–५ ले अन्तिम चारमा ठाउँ बनाइसकेका छन् ।
समूह ‘बी’मा प्रदेश नम्बर–७ को ४ खेलबाट ५ अंक छ भने २ खेलबाट नेपाल पुलिस क्लबको ३ अंक छ । २ अंकको प्रदेश नम्बर–३ र १ अंकको कर्णाली बाहिरिइसकेको अवस्थामा प्रदेश–७ र नेपाल पुलिसमध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्