२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


इलाममा कडा प्रकृतिका रोगले संक्रमित हुनेहरुको संख्या बढ्यो


0
Shares

प्रकाश नेपाल/ईमेज:
इलाम, जेठ २६ । इलाममा कडा प्रकृतिका रोगबाट संक्रमित हुनेहरुको संख्या बढ्न थालेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार गत वर्षको तुलनामा कडा प्रकृतिका रोगबाट प्रभावितको संख्या १४ प्रतिशतले वृद्धि भएको छ ।

जीवनशैली, सरसफाइ र हावापानीको कारण यस्ता बिरामीको संख्या बढेको पाइएको हो ।

पछिल्लो समय अस्वस्थकर खानपान अस्वस्थ वातावरण र व्यायामको अभावका कारण गम्भीर प्रकृतिका रोगहरुले धेरैलाई आक्रमण गर्न थालेका छन् ।

इलाम जिल्लामा पनि कडा रोगीको संख्या दिनप्रतिदिन बढ्न थालेको देखिएको छ ।

पछिल्लो समय क्यान्सर, मुटुरोग, मधुमेह ,असन्तुलित रक्तचाप,स्वासप्रश्वासको समस्या भएका बिरामीको सख्या बढ्दै गएको छ ।

सरकारले कडा रोगबाट पीडित भएकालाई उपचारमा एक लाख रुपैयाँ बराबरको सहुलियत उपलब्ध गराउदै आएको छ ।

सहुलियतका लागि सिफारिस माग्दै दिनहुँजसो बिरामी जनस्वास्थ्य कार्यालय धाइरहेको पाइन्छ ।

पहाडी जिल्ला भएको कारण स्वच्छ र सन्तुलित हावापानी भएपनि जिल्लामा जटिल रोगीको संख्या भने बढ्न थालेको छ ।

कडाखालका रोगले आक्रमण गर्दा सहजै निको नहुने र खर्चिलो उपचार पद्धति हुने भएकोले उपचारमा पनि समस्या हुने गर्दछ । जिल्लाका सरकारी स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको छ ।

जसमा पनि क्यान्सर र मृगौलाका रोगीको संख्या अस्वाभाविक बढेको चिकित्सक बताउँछन् । आधुनिक जीवनशैली बढी निष्क्रिय बन्दै गएको छ ।

अस्वस्थकर खाना शारीरिक व्यायामको अभावले जटिल रोगलाई टेवा दिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

चालु आर्थिक वर्षको बैशाखसम्ममा एकसय ८३ जना कडा रोगका बिरामीलाई सहुलियतका लागि सिफारिश गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका सूचना अधिकारी टंक चौधरी बताए ।

प्राथामिक स्वास्थ्य संस्था या जिल्ला अस्पतालका चिकित्सकको प्रेसक्रिप्सन अनुसार स्वास्थ्य चौकीबाटै केही निशुल्क औषधि पाइन्छ ।

कडा रोगीको संख्या उच्च भएपछि जिल्लामा स्वास्थ बीमा कार्यक्रममार्फत् जिल्ला अस्पताल र अन्य जिल्लाबाट पनि सेवा लिइरहेको स्वास्थ्य बीमा बोर्ड इलामका दर्ता अधिकारी खेम अधिकारी भने ।

जटिल किसिमका रोगी बढ्दै गएकोले यस्ता रोगबाट बच्ने उपायका बारेमा सबै सचेत हुनु जरुरी छ ।

यस्ता रोगका कारण धेरैले अकालमा ज्यान गुमाउनुपरेको भने कसैले अनुत्पादक जीवन बिताउनु परेको दुखद यथार्थ हाम्रोसामु छ ।

त्यसबाट बच्नको लागि धूम्रपान,मद्यपान नगरी स्वस्थकर खानेकुरा खाने, स्वास्थ्यजाँच गराइरहने र शारीरिक व्यायाम गर्नुपर्ने देखिन्छ ।