Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


तिहारमा फूलको महत्व (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना/भरत केसी (इमेज)

काठमाडौं, कात्तिक २० । तिहारलाई फूल र बत्तीको पर्व पनि मानिन्छ ।

यो पर्वमा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने माला र पूजामा प्रयोग गरिने फूलहरुमा गोदावारी, सयपत्री र मखमली विशेष हुन् ।

तिनै फूलहरु किन्नेको यतिखेर काठमाडौंलगायतका सहरबजारमा निकै भीडभाड देखिन्छ ।

तिहार दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता साटासाट गर्ने पर्व । दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका र सयपत्री, मखमली फूलको माला लगाएर दीर्घायुको कामना गर्ने प्रचलन छ । यो पर्वमा फूलको प्रयोग अनिवार्य नै मानिन्छ ।

संस्कृतिविद्हरुकाअनुसार ‘१०० ओटा शरद ऋतु देख्न र बाँच्नु सकुन्’ भन्ने कामनाका साथ तिहारमा सयपत्री फूलको प्रयोग हुने गर्छ ।

तिहारमा काग, कुकुर, गाई, गोरु र धनकी देवी लक्ष्मीको पूजामासमेत गोदावरी, मखमली र सयपत्री फूलको नै प्रयोग गर्ने चलन छ ।

तिहारमा फूलको खपत निकै हुने गर्छ । यमपञ्चक सुरु भएदेखि नै काठमाडौंका सडक–गल्लीमा सयपत्री, मखमली फूलको व्यापार फस्टाएको देख्न सकिन्छ ।

कालिमाटी, बल्खु, असन, जमल, बानेश्वर, न्यूरोड क्षेत्रमा मखमली र सयपत्री फूलको कारोबार निकै हुने गर्छ ।

बजारमा फूलमाला बेच्ने र किन्नेको भीड निकै हुने गरेपनि यसको मूल्यमा भने एकरुपता भेटिँदैन । भाउ मनपरी हुने गरेको उपभोक्ताको गुनासो छ । अहिले एउटा मालाको झुप्पोको मूल्य एक हजार रुपैयाँसम्म रहेको छ ।

हिजोआज विभिन्न सभा–समारोह र कार्यक्रममासमेत सयपत्रीलगायतका फूलको प्रयोग हुन थालेको छ ।

तिहारको बेला भने घर, कार्यालय सजाउन मखमली र सयपत्री फूलको प्रयोग बढी हुने गर्छ ।

यस्ता फूलहरुको प्रयोगलेसमेत तिहार पर्वको महत्व र आकर्षण बढाउन विशेष भूमिका खेलेको मान्न सकिन्छ ।

भिडियो हेर्नुहोस्