पोखरा, कात्तिक २० । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटको उपाधि स्थानीय टोली पोखरा पल्टनले जितेको छ ।
मंगलबार पोखरा रंगशालामा भएको फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ३ विकेटले हराउँदै शरद भेषावकरको कप्तानीमा रहेको पोखराले उपाधि जितेको हो ।
खेलमा चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले खेलमा ४ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो ।
पोखराका लागि भारतीय ब्याट्सम्यान रविइन्दर सिंहले ९० रनको महत्वपूर्ण पारी खेले ।
यसैगरी, युएईका मोहम्मद नाभिदले १४ बलमा २५ रन जोड्दा कप्तान शरद भेषावकरले २२ रनको योगदान दिए ।
यसअघि, खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित् २० ओभरमा ५ विकेट गुमाएर १६० रन जोडेको थियो ।
चितवनका कप्तान पारसले ५१ रन जोड्दा भारतीय खेलाडी सन्नी पटेलले ४३ रन तथा अनिलकुमार शाहले ३७ रनको योगदान दिए ।
बलिङतर्फ पोखराका कृष्ण कार्कीले २ विकेट लिँदा मोहम्मद नाभीद र ललित राजवंशीले एक/एक विकेट झारे ।
पीपीएल क्रिकेटमा चितवनमाथि पोखराको यो दोस्रो जित हो । यसअघि, समूह चरणको खेलमा पोखराले चितवनलाई ५ विकेटले हराएको थियो ।
घरेलु क्रिकेटमा पारस र शरदको कप्तानीमा रहेका टोलीहरुले एकापसमा फाइनल खेलेको यो तेस्रो अवसर हो ।
यसअघि, धनगढी प्रिमियर लिग (डीपीएल) र एभरेस्ट प्रिमियर लिग (इपीएल)को एक/एक संस्करणको फाइनलमा यी दुई कप्तान आमने–सामने हुँदा दुवै खेल पारसले जितेका थिए ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको पोखरा प्रिमियर लिग क्रिकेटको यो पहिलो संस्करण विजेताले घरेलु क्रिकेटको सर्वाधिक २७ लाख रुपैयाँ पुरस्कार जितेको छ ।
विजेता टोलीलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्