२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बझाङमा धान उत्पादन २० प्रतिशतले बढ्यो


0
Shares

डीबी विष्ट

बझाङ, कात्तिक १९ । अनुकुल मौसम र उपयुक्त बिउको प्रयोग भएका कारण यस बर्ष बझाङ जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ । धानको उत्पादन २० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस वर्ष तीन वर्ष यताकै राम्रो उत्पादन भएको हो । बझाङमा यस वर्ष करिब ८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।

यस वर्ष जिल्लाभरी करिब २८ हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको ज्ञान केन्द्रको प्रारम्भिक अनुमान छ । यो गत वर्षभन्दा करिब ५ हजार मेट्रिक टन बढी हो । गत बर्ष यति नै क्षेत्रफलमा करिब २३ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र प्रमुख रामलाल जोशीले बताए ।

यो वर्ष समयमै रोपाई सकिएको र स्थानीय जातहरुको तुलनामा मुल बिउ र उन्नत जातको धानको बिउ बढी प्रयोग भएका कारण समग्र उत्पादनमा वृद्धि भएको हो । ज्ञान केन्द्र प्रमुख जोशीले भने, ‘तीन वर्ष यता कै राम्रो धान उत्पादन भएको छ । गत वर्षभन्दा न्युनतम १५ प्रतिशत उत्पादनमा वृद्धि भएको हामीले पाएका छौं ।’ 

बिउको छनौट, कम्पोष्ट मल बनाउने तथा खेतमा हाल्ने तरिका र खेती गर्ने प्रविधिमा पनि किसानहरु सचेत हुँदै गएका कारण जिल्लामा धानको उत्पादन क्रमशः बढ्दै गएको उनले बताए ।