काठमाडौं, कात्तिक १७ । चौथो संस्करणको साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा शनिबार भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।
निर्धारित् ९० मिनेट र अतिरिक्त समय एक/एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा बंगलादेशले बाजी मार्यो ।
खेलमा सुरुआती अग्रता बंगलादेशले लिएको थियो । खेलको २७औं मिनेटमा पाकिस्तानका हसिब मोहम्मद खाले आत्मघाती गोल गरेपछि बंगलादेशले अग्रता बनाएको थियो ।
तर, खेलको ५४औं मिनेटमा पाकिस्तानले मोहिब उल्लाहको गोलको मद्दतले खेल बराबरीमा ल्याएको थियो ।
प्रतियोगितामा पाकिस्तानका हसिब मोहम्मद खान उत्कृष्ट खेलाडी बने । यस्तै, ४ गोल गर्दै बंगलादेशका मोहम्मद सर्वाधिक गोलकर्ता चुनिए । बंगलादेशले ‘फेयर प्ले’ टोलीको अवार्डसमेत हात पारेको छ ।
अन्तिम खेल हेर्न नेपालका लागि बंगलादेशी राजदूत मास्फी विन्टे शाम्स पनि एन्फा मैदान सातदोबाटो पुगेका थिए ।
विजेता टोलीलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापालगायतले पुरस्कार प्रदान गरे । रासस








प्रतिक्रिया दिनुहोस्