काठमाडौं, कात्तिक १७ । साफ यु–१५ फुटबल प्रतियोगिताअन्तर्गत् नेपालले भारतसँग १–० गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को सातदोबाटोस्थित मैदानमा शनिबार भएको खेलमा १८औं मिनेटमा थलेचु बनलरुटफेलाले गरेको गोल नै भारतको जितका लागि पर्याप्त बन्यो ।
पहिलो हाफमा १–० गोलले पछि परेका नेपालले दोस्रो हाफमा सुधारिएको प्रदर्शन त गर्यो तरपनि गोल गर्न नसक्दा भारतसँग पराजित हुन पुग्यो । जितसँगै अघिल्लो संस्करणको विजेता भारत तेस्रो बन्यो ।
नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बंगलादेशसँग पराजित भएको थियो ।
प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एकमात्रै जित रह्यो ।
माल्दिभ्समाथि ४–० गोलको शानदार जित निकालेको नेपालले दोस्रो खेलमा बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भयो ।
पहिलो खेलमै पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको भारत अन्तिम खेलमा भुटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो । रासस








प्रतिक्रिया दिनुहोस्