Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


फुटबल क्लबलाई ललितपुर महानगरको सहयोग


0
Shares

काठमाडौं, कात्तिक १७ । ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँचओटा ‘ए’ डिभिजनसहित ११ क्लबलाई शनिबार आर्थिक सहयोग प्रदान गरेको छ ।

ललितपुर महानगरपालिकाले शनिबार पाँच ‘ए’ डिभिजन क्लब, चार ‘बी’ डिभिजन क्लब र दुई ‘सी’ डिभिजन क्लबलाई रु ६१ लाख आर्थिक सहयोग प्रदान गरेको हो ।

महानगरपालिकाले ललितपुरका पाँच ‘ए’ डिभिजन क्लब थ्रीस्टार, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबलाई समान रु चार/चार लाख प्रदान गरेको हो । थ्रीस्टारलाई भने थप रु २८ लाख प्रदान गरेको छ ।

गत वर्ष सातओटा प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै महानगरले प्रत्येक उपाधिबापतको रु चार लाखका दरले थ्रीस्टारलाई रु २८ लाख थप सहयोग प्रदान गरेको महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

थ्रीस्टारले गत वर्ष सहभागिता जनाएका १६ प्रतियोगितामध्ये सातओटाको उपाधि जितेको थियो ।

यसका साथै क्लब र महानगरबीच फुटबलको विकासका लागि वार्षिकरुपमा सहयोग गर्नेगरी सम्झौता पनि भएको छ ।

यस्तै, महानगरपालिकाले ‘बी’ डिभिजनका सातदोबाटो युथ क्लब, खुलमलटार युथ क्लब, झम्सीखेल युथ र पुल्चोक युथ क्लबलाई समान तीन/तीन लाख उपलब्ध गराएको छ ।

त्यस्तै, ‘सी’ डिभिजनका दुई क्लब खालीबारी युथ क्लब र सानेपा युथ क्लबलाई रु दुई/दुई लाख प्रदान गरेको छ ।

शनिबार महानगरद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, महानगरका प्रमुख चिरिबाबु महर्जनले सहयोग रकम क्लबलाई हस्तान्तरण गरे ।

सो अवसरमा फुटबलको विकासका लागि स्थानीय तहले अग्रसरता देखाउनु सकारात्मक भएको बताउँदै सदस्यसचिव विष्टले भने–‘खेलकुदको विकासका लागि राजनीतिक अग्रसरता हुनु सरहानीय छ ।’

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले फुटबलको विकासका लागि महानगरले सहयोग उपलब्ध गराएको बताए ।

प्रमुख महर्जनले भने–‘खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि नगरसभाबाट पारित गरी हामीले सहयोग उपलब्ध गराएका हौं । सहयोगले फुटबलको विकासमा लागि मद्दत पुग्छ ।’

यसअघि, काठमाडौं महानगरले पनि जिल्लाका ६ ओटा ‘ए’ डिभिजन क्लबलाई वार्षिक रु १० लाख दिने घोषणा गरिसकेको छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोली म्यानमार प्रस्थान

ओलम्पिक महिला फुटबल छनोट प्रतियोगितामा सहभागिता जनाउन राष्ट्रिय महिला फुटबल टोली म्यानमार प्रस्थान गरेको छ ।

एक साता चीनमा अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टोली चीनबाटै शुक्रबार साँझ म्यानमार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता किरण राईले जानकारी दिए ।

चीन बसाइँमा नेपालले तीन मैत्रीपूर्ण खेल खेलेको थियो ।

बेइजिङ फोनिक्सविरुद्धको दुई मैत्रीपूर्ण खेलमा नेपाल पहिलोमा ४–१ तथा दोस्रोमा २–१ ले पराजित भएको थियो ।

बेइजिङ स्पोर्टस् युनिभर्सिटीविरुद्ध नेपाल ३–० ले विजयी भएको थियो । रासस