Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


भक्तपुरमा मखमली फुलको माला बनाउने चटारो (भिडियो)


0
Shares

जयराम बास्तोला/ईमेज:

भक्तपुर । तिहार नजिकिंदै गर्दा भक्तपुरका किसानहरुलाई अहिले फूलको माला बनाउने चटारो परेको छ ।

भक्तपुरमा उत्पादित मखमली फूलको माला विदेशमा समेत लोकप्रिय बन्दै छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिंदै गर्दा भक्तपुरमा मखमली फुलको माग ह्वात्तै बढेको छ ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई कहिल्यै नओइलाउने मखमली फूलको माला लगाएर आर्शिवाद दिने गर्दछन् ।

जेठमा रोपेको मखमली फूल भदौकोदेखि नै टिपेर माला गाँसी झुण्ड्याएर राख्ने प्रचलन पनि छ ।

भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका किसानहरुलाई अहिले फूलको माला बनाउन चटारो नै परेको छ ।

उनीहरुले एक रोपनीदेखी पाँच रोपनी जग्गामा मखमली, सयपत्री लगायतका फूलहरु लगाएका छन् ।

जग्गा भाडामा लिएरसमेत केही किसानहरुले मखमली फूलको खेती गर्दै आएका छन् ।

आधा रोपनी जग्गामा मखमली फुल लगाएका किसानहरुले दुई हजार बराबर माला तयार भएको बताउँछन् ।

चाँगुनारायण नगरपालिको ६ र ९ तथा सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७ मा व्यवसायीक रुपमा मखमली फूलको खेती हुदैं आएको छ ।

भक्तपुरका कृषकले मखमली फूल बिक्रिका लागि काठमाडौंको असन र कालीमाटी लैजाने गरेका छन् ।

घरबाट नै व्यापारीहरुले प्रति माला १८ देखि २० रुपैँयामा खरिद गरेर लैजाने गरेको स्थानीय कृषक बताउँछन् ।

यहाँका एक कृषकले यो सिजनमा मात्र मखमली फूल बिक्री गरेर ३० हजारभन्दा बढी  आम्दानी गरेका छन् ।

तिहारमा मात्र प्रयोग हुंदै आएको मखमली फूल पछिल्लो समय छठ पर्वका लागि समेत माग हुन थालेपछि कृषकहरु यो व्यवसायतर्फ बढी आकर्षित भएका हुन् ।

भक्तपुरको मखमली फूलको माग स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै छ । अर्कोतर्फ मखमली फूलको बिरुवा जोगाउनै मुश्किल पर्ने कृषकहरु बताउँछन् ।

जरा कुहिने, डढुवा रोग लाग्ने र औषधी तथा भिटामिनको प्रयोग अत्यधिक गर्नुपर्ने हुँदा खटेअनुसार मूल्य नपाएको गुनासो कृषकहरुको छ ।

भक्तपुरमा किसानहरुले एक सिजनमा मात्र वार्षिक दुई करोडभन्दा बढीको फुल बिक्री गर्दै आइहेका छन् ।