Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


सुर्मा गाँउपालिकाका युवाको अगुवाईमा महोत्सव


52
Shares

डीबी विष्ट

बझाङ, कात्तिक १५ । सुर्मा गाँउपालिकाका युवाहरुले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारहरु बोलाएर स्थानीय संस्कृति, पहिचान जगेर्ना गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न आयोजित महोत्सवमा कुनै प्रकारको प्रवेश शुल्क लिइएको छैन ।

सुर्मा गाउँपालिकाभित्र रहेको सुर्मा सरोबर ताल, तातोपानी, सुर्मा गाउँपालिकाको धार्मिक मेला विरीजात, घाँसे मैदानहरुको प्रचार प्रसार गर्ने उद्देश्यले राष्ट्रियस्तरका कलाकारहरु बोलाई महोत्सब सञ्चालन गरिएको स्थानीय दिनेशबहादुर बोहराले बताए ।

युनिक मोसन युवा समाजको आयोजनामा कात्तिक १३ गतेदेखि संचालन भएको महोत्सव १६ गतेसम्म चल्नेछ ।

महोत्सवमा राष्ट्रिय कलाकारका रुपमा दोहोरी गायिका राधिका हमाल, दोहोरी गायक मनिष खड्का, डेउडा गायक लालबहादुर धामी (अछामी बड्डो) छन् । यस्तै महोत्सवमा टेलिशृङ्खला मेरी बास्सैका हाँस्य कलाकार जानुका पौडेल, निर्मली खड्काको प्रस्तुती दर्शकका लागि आकर्षणको केन्द्र बनेको छ ।

महोत्सबमा मिस्टर आर.जे.र्‍यापर र डिके राउत डान्सरलाई समेत आमन्त्रण गरिएको युनिक मोसन युवा समाज सुर्मा–३ का अध्यक्ष धनराम बोहराले बताए ।

‘अन्तर्राष्ट्रिय ब्यापारको अभियान, पर्यटकीय क्षेत्र सुर्मा हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सुर्मा–३ मा सञ्चालन भएको महोत्सवमा लोपोन्मुख अन्न बालीहरुको पनि जगेर्ना गर्ने उद्देश्य रहेको युवा समाजका अध्यक्ष बोहराले बताए । सुर्मा गाउँपालिकाको मुख्य बालीका रुपमा रहेको कोदो, फापर लगायतका बाली लोप हुँदै गएका कारण यसको जगेर्ना गर्नका लागि पनि महोत्सव सञ्चालन गरिएको उनले बताए ।

झण्डै १० लाखको लागतमा महोत्सव सञ्चालन गरिएको उनको भनाइ छ । महोत्सवका लागि स्थानीय तहबाट कुनै पनि सहयोग नभएको युवा समाजका सदस्यहरुले बताएका छन् ।

महोत्सव सञ्चालन गर्दा लाग्ने रकममध्ये १ लाख ५० हजार रुपैयाँ स्थानीय ब्यापारीहरुबाट चन्दा संकलन भएको र बाँकी रकम युनिक मोसन युवा समाजका ३० जना सदस्यले प्रतिब्यक्ति ५० हजार रुपैयाँ चन्दा संकलन गरी सुरु गरिएको आयोजकले जनाएका छ ।