Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


तिहारमा मुलुकभर लोडसेडिङ हुँदैन : कुलमान


0
Shares

काठमाडौं, कात्तिक १४ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तिहारमा मुलुकभर लोडसेडिङ नहुने बताएका छन् ।

बुधबार राजधानीमा मध्य भोटेकोसी जलविद्युत् आयोजनाले सेयर निष्कासनसम्बन्धी गरेको पत्रकार सम्मेलनमा उनले तिहारका बेला १२ सय ७० मेगावाट विद्युत् आवश्यक पर्ने अनुमान गरिएको बताए ।

अनुमानित मागभन्दा धेरै खर्च भएमा पनि धान्नसक्ने वातावरण बनाएको भन्दै उनले तिहारमा कहीँपनि लोडसेडिङ नहुने बताए ।

यो वर्ष गत वर्षको तुलनामा ‘सप्लाइ’ बढाइएको उनको भनाइ छ ।

प्राविधिक कारणले कतै–कतै बत्ती जानसक्ने तर सप्लाइ कम भएर लोडसेडिङ हुने स्थिति नभएको उनले दाबी गरे ।

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोेटेकोसी जलविद्युत् आयोजनाले सर्वसाधारण समूहका लागि छुट्याएको सेयर निष्कासन गर्ने जनाएको छ ।

आयोजनाले पहिलो चरणमा कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले सञ्चयकर्ताका लागि यही कात्तिक २८ देखि मंसिर १४ गतेसम्म सेयर निष्कासन गर्नेछ ।

त्यस्तै, संगठित संस्थाका कर्मचारी र ऋणदाता कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि मंसिर १८ देखि २६ गतेसम्म सेयर निष्कासन गर्ने जनाइएको छ ।