
दीपेन्द्र अधिकारी (रासस)
कतार, कात्तिक १३ । नेपाली कामदारको आकर्षक र सहज गन्तव्य बनेको कतारले नेपाली अदक्ष कामदारको सीप विकास गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ ।
उक्त कार्यालयले अदक्ष कामदारहरूलाई विभिन्न सीमपूलक तालिम दिनेछ ।
त्यसैगरी, सो कार्यालयबाट नेपाली श्रमिकहरूको छनोट, स्वास्थ्य परीक्षण र बिमालगायत एकीकृत सेवा प्रदान गरिनेछ ।
कतारको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री इशा बिन साद अल जफाली अल नुआइमीबीच यस विषयमा छलफल भएको छ ।
कतारमा ठूलो संख्यामा रहेका नेपाली श्रमिकका समस्या समाधानमा आफूले विशेष र गम्भीर चासो व्यक्त गरेको र कतारका मन्त्री ती समस्या समाधान गर्न अत्यन्त सकारात्मक रहेको मन्त्री ज्ञवालीले बताएका छन् ।
मन्त्री ज्ञवालीकाअनुसार मंगलबार नेपाल र कतारका राष्ट्राध्यक्षहरूकोबीचमासमेत नेपाली श्रमिकका सुरक्षा र चासोका विषयमासकारात्मक छलफल भएको छ । जसले गर्दा नेपाली श्रमिकका समस्या छिटै समाधान हुनेछन् ।
हाल कतारमा ४ लाखभन्दा बढी नेपाली श्रमिक विभिन्न क्षेत्रमा कार्यरत् छन् ।
प्रतिक्रिया दिनुहोस्