Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


विदेश घुम्ने नेपालीहरुको संख्या बढ्दो


0
Shares

लक्ष्मी लामा (इमेज)

काठमाडौं, कात्तिक १३ । पछिल्लो समय नेपालीहरु पनि विभिन्न देशका भ्रमणमा निस्कने प्रचलन बढेको छ ।

ट्राभल एजेन्सीहरुले उपलब्ध गराउने सुलभ टुर प्याकेजमा विदेश घुम्ने नेपालीहरुकोे संख्या उल्लेख्य मात्रामा बढिरहेको छ ।

नेपालबाट विभिन्न मुलुकहरुमा वार्षिक हजारौं नेपालीहरु विदेश घुम्न जाने गर्दछन् ।

त्यसरी घुम्न जाने मुलुकमा थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया र दुबई नेपालीहरुको मुख्य गन्तव्य हुने गरेको छ ।

ती देशहरुमा जान भिसा प्रक्रिया सजिलो र प्याकेज पनि मध्यमवर्गीय नेपालीहरुको हैसियतअनुसारको भएकाले ती देशहरु गन्तव्य बनेका हुन् ।

सुधारिँदै आएको आर्थिक अवस्था र कुनै न कुनै विदेशी मुलुक घुम्नैपर्छ भन्ने मानसिकताले गर्दा पनि विदेश घुम्ने नेपालीको संख्या बढेको हो ।

त्यसो त उत्तरी छिमेकी चीन, रुस, मोरिसस र युरोपेली देशमा पनि नेपालीहरु घुम्न जाने गर्दछन् ।

नेपालभित्रैका गन्तव्यहरुको भ्रमण खर्चमा अलिकति बढाउँदा भ्रमण सम्पन्न हुने भएकाले प्रायः यस्ता भ्रमणहरु पारिवारिक हुने गरेको पाइएको छ ।

अध्यागमन विभागको तथ्यांकले पनि दक्षिण एसियापछि नेपालीहरु दक्षिण पूर्वी एसिया, चीनलगायतका मुलुकमा घुम्न जाने गरेको देखाएको छ ।

घुम्नमात्र नभइ विभिन्न संघ–संस्थाहरुबाट विदेशमा लगेर सेमिनार गराउने चलन पनि बढिरहेको छ भने कृषि व्यवसायीहरु व्यावसायिक कृषि सिक्न थाइल्यान्ड तथा इजरायल जाने गरेका छन् ।

अझै विदेश घुम्ने रहर हुने तर एकैपटकमा रकम जुटाउन नसक्नेहरुका लागि ट्राभल एजेन्सीहरुले विभिन्न बैंकहरुसित मिलेर किस्ताबन्दीको घुमघाम प्याकेज पनि बेच्न थालेका छन् ।

विदेश भ्रमणबाट देशलाई भने प्रत्यक्षरुपमा कुनै फाइदा नपुग्ने स्पस्ट छ । नेपालको आन्तरिक पर्यटन तुलनात्करुपमा महँगो हुनु र सरकारले पनि स्वदेशी पर्यटन प्रवर्धनका लागि काम नगर्नुले विदेशका टुर प्याकेजहरु सहजै बिक्री भइरहेकोमा शंका छैन ।