काठमाडौं, कात्तिक १२ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सोमबार काठमाडौंमा नेपाल सरकार र मलेसिया सरकारबीच कामदार भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारी भएको हो ।
नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
लामो प्रयासपछि नेपाल र मलेसियाबीच कामदार आपूर्तिका विषयमा समझदारी भएको हो । यसका लागि मलेसियाली मानव संशाधनमन्त्री आइतबार राति नेपाल आएका थिए ।
यस समझदारीसँगै ६ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ ।
वैदेशिक रोजगारीलाई थप सुरक्षित र व्यवस्थित बनाउनका लागि समझदारी महत्वपूर्ण कदम भएको जनाइएको छ ।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको छनोट प्रक्रियामा लाग्ने सबै खर्च रोजगारदाता मुलुकले नै व्यहोर्नेगरी सम्झौता भएको छ ।
समझदारीसँगै मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, प्रवेशाज्ञा शुल्क, स्वास्थ्य परीक्षण गराउँदा लाग्ने खर्च, सुरक्षाजाँचलगायतका खर्चहरु सम्बन्धित रोजगारदाताले नै व्यहोर्नुपर्नेछ ।
अब नेपाली कामदारलाई लाग्दै आएको ‘लेवी’समेत नलाग्ने भएको छ ।
कामदारहरुको पारिश्रमिक प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत् भुक्तानी गर्नुपर्ने व्यवस्था पनि समझदारीमा गरिएको छ ।
वैदेशिक रोजगारीलाई थप सुरक्षित र व्यवस्थित बनाउनका लागि समझदारी महत्वपूर्ण कदम भएको श्रममन्त्री गोकर्ण विष्टले बताए ।
नेपाली कामदारको घरपरिवारको कुनै सदस्यको मृत्यु भएमा १५ दिनको बिदा दिनुपर्ने, श्रमिक घाइते वा मृत्यु भएमा रोजगारदाताले राजदूतावासमा जानकारी गराउनुपर्नेलगायतका व्यवस्था समझदारीमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्