
काठमाडौं । छातीमा संक्रमण र सुगरको मात्रा बढी भएपछि उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ ।
प्रधानमन्त्री ओली आज बिहान ४ बजे काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।
उनलाई अहिले मनमोहन कार्डियोलोजी भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राखेर उपचार गरिँदै छ ।
उनको स्वास्थ्य अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई एन्टिबायोटिक औषधि चलाइएको छ ।
कार्डियोलोजि विभागका निर्देशक डा.उत्तम श्रेष्ठले प्रधानमन्त्रीको अवस्था सामान्य हुँदै गएको जानकारी दिए ।
केही दिनयता बिरामी परेका ओली स्वास्थ्यमा थप समस्या देखिएपछि आज बिहान अस्पताल पुगेका हुन् ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंहले उनको अवस्था सुधार हुँदै गएकाले भोलिसम्म डिस्चार्ज गर्न सकिने बताइन ।
तर संक्रमणको सम्भावना कायमै रहेकाले थप केही दिन अस्पतालमै राखेर उपचार गराउन पनि सकिने जानकारी दिइन् ।
अस्वस्थ भएर अस्पतालमा उपचारका लागि प्रधानमन्त्री भर्ना भएपछि बिहानैदेखि नेकपाका कार्यकर्ताहरु प्रधानमन्त्रीको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, मन्त्रीहरु र नेकपाका कार्यकर्ताहरु अस्पतालमा पुगेका थिए ।
अहिले पनि अस्पतालमा नेता तथा कार्यकर्ता पुग्ने क्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्