चितवन, कार्तिक ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकता र सरकारलाई कमजोर पार्न देशभित्र र बाहिरबाट ठूलो षड्यन्त्र भइरहेको बताएका छन् ।
नेकपा चितवनले आज भरतपुरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकता प्रक्रिया तुहाउन कसरत गर्नेहरु फेरि सक्रिय भएको बताए । ‘राजा महाराजाले दिएर आएको परिवर्तन होइन,’ उनले भने, ‘हजारौंको बलिदान र लाखौंको त्यागले उपलब्धि संस्थागत भएको हो ।’
इमान्दारीपूर्वक दुई पार्टीले संकल्प गरेका कारण पार्टी एकीकरण सम्भव भएको उनले बताए ।
सोही अवसरमा फरक प्रसंगमा उनले सरकारले विकासको पूर्वाधार तयार पार्ने कुरामा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।
कार्यक्रममा पार्टीका महासचिव विष्णु पौडेलले भौतिक विकास र मानवीय विकास सँगसँगै अघि लैजानुपर्ने बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्वाचनको समयमा जनतासमक्ष गरेका प्रतिबद्धता पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन तहमै कम्युनिस्ट सरकार रहेको र केन्द्रमा दुई तिहाई बहुमत रहेको जिकिर गर्दै अब पनि काम गर्न नसके अरुलाई दोष दिएर उन्मुक्ति पाउने अवस्था नरहेको बताए ।









प्रतिक्रिया दिनुहोस्